राजनीति


महिलाका लागि छुट्टै बस सञ्चालन गरेर रविले सस्तो लोकप्रियता कमाउन खोजे : शंकर पोखरेल

महिलाका लागि छुट्टै बस सञ्चालन गरेर रविले सस्तो लोकप्रियता कमाउन खोजे : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८० बिहिबार ११:३१, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाहरुका लागि छुट्टै बस सञ्चालन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सस्तो लोकप्रियता कमाउन खोजेको बताएका छन्। 

चितवन क्षेत्र नम्बर २ का महिलाहरुका लागि ‘ब्लू बस’ बुधबारदेखि सञ्चालनमा ल्याएपछि फरक फरक टिप्पणी आइरहेका बेला महासचिव पोखरेलले लामिछानेको उक्त कदमको आलोचना गरेका हुन्। 

उनले विश्वका कयौँ मुलुकमा महिलाहरु बन्द समाजमा जकडिइरहँदा नेपालमा भने अपवादबाहेक सुरुदेखि नै स्वतन्त्र रहेको बताउँदै नेपालमा छुट्टै बस चलाएर गलत सन्देश दिन खोजिएको टिप्पणी गरेका हुन्। 

‘दुनियाँका धेरै मुलुकहरुमा महिलाहरु बन्द समाजमा जकडिएको बेला नेपाली समाजमा अपवादबाहेक महिलाहरु सुरुदेखि नै तुलनात्मक हिसावले स्वतन्त्र थिए’, उनले भनेका छन्, ‘उत्पादनको काममा परिवारका सदस्यसँग मिलेर एकसाथ काम गर्थे। जबकी अहिले युवाहरुको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यमा महिलाहरु परिवारको मूलीका रुपमा भूमिका निर्वाह गरिरहेका छन्।’

महिलाहरुले समाजको नेतृत्व गरिरहेको अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरुले महिलाका लागि मात्रै सार्वजनिक यातायात सञ्चालन गरिनुले प्रश्न उठाएको उनले बताए। 

‘कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वभावकि हो’, पोखरेलले भनेका छन्, ‘नेपाली समाजमा यतिबेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ।’ 

उनले चितवन महिला जागरण र जागृतिको थलो भएको बताउँदै पञ्चायतकालमा आफू विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरु स्वतन्त्र रहेको महसुस गरेको बताएका छन्।

‘त्यसबेलै ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाबीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका मैले त्यही बेला पाएको थिएँ’, पोखरेलले भनेका छन्।

तर त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्रै भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा आफूहरु कता जान खोज्दैछौँ भन्ने प्रश्न जागृत भएको उनको भनाइ छ। 

‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ। हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ’, पोखरेलले थपे, ‘तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौँ।’

उनले चितवन जस्तो सचेत ठाउँबाट सस्तो लोकप्रियता भन्दा नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गर्नुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad