राजनीति


कोशी विद्रोहमा देउवाको समर्थन, खड्का, थापा र शर्माको विरोध?

कोशी विद्रोहमा देउवाको समर्थन, खड्का, थापा र शर्माको विरोध?

नेपालखबर
असोज २८, २०८० आइतबार २०:४६, काठमाडौँ

कोशी प्रदेशमा नेपाली कांग्रेसका केदार कार्कीले ८ सांसदसहित विद्रोह गरे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर सरकार बनाए। 

कार्कीको यस विद्रोहलाई केन्द्रबाट शेखर कोइरालाले संरक्षण दिएको बुझाइ थियो। तर, कोइराला मात्र होइन, सभापति शेरबहादुर देउवाले समेत कार्कीको कदमलाई समर्थन गरे। र ढाडस दिए।

शनिबारै आफ्नो निवासमा बोलाएर बधाइसमेत दिन भ्याए। असहमतिका नाममा उनको भनाइ यत्ति थियो, ‘सल्लाह गरेको भए हुन्थ्यो।’

कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै सत्ता गठबन्धनका केही नेता बालुवाटारमा भेला भए। 

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाले त एक चिर्कटोमा एक बुँदे सहमति नै सार्वजनिक गरे। मीनेन्द्र रिजाल यसका सहजकर्ता थिए।

भलै बालुवाटारको त्यस चिर्कटो सहमतिको आयु २४ घण्टा पनि रहेन।

कांग्रेसमा भएको कोशी विद्रोहले आफ्नो गाथगादी हल्लिएको ठानेर तनावग्रस्त बनेका प्रधानमन्त्री दाहाललाई चिर्कटोले निकै राहत दिएको थियो।

उनले शनिबार चितवन पुगेर पत्रकारहरूसामु यस्तै राहतको अभिव्यक्ति दिए, ‘म तनाव भएर चितवन आएको हुँ। तपाईंहरूले सहयोग गर्नुभयो भने अलि रेस्ट गर्छु।’

प्रचण्डको विश्वास थियो, चिर्कटो सहमतिले बिथोलिएको कांग्रेस लयमा आयो। एमालेको दाउ धूलीसात् भयो।

त्यसैले उनी भन्दै थिए, ‘ठूलै षड्यन्त्र परास्त गर्न सफल भइयो।’

तर, नवनियुक्त मुख्यमन्त्री कार्की शपथका लागि विराटनगर जानुअघि आइतबार बिहानै बालकोट गए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कृतज्ञता भेट गरे।

‘धेरै कुरा त भएन,’ भेटमा सहभागी कांग्रेस नेता पुरञ्जन आचार्यको भनाइ छ, ‘तर मुख्यमन्त्री बनाउन सहयोग गरेकामा ओलीलाई धन्यवाद दिने काम भयो। ओलीले पनि सहकार्यको संस्कृति कोशीबाट सुरुवात भएको भन्दै बधाइ र शुभकामना दिनुभयो।’

जब कार्की बालकोट सोझिए, चिर्कटोको आयु समाप्त भयो। विराटनगर पुगेर कार्कीले पूर्वयोजनामुताविक नै एमालेका राम रानालाई समेत सामेल गरेर मन्त्रिपरिषद गठन गरे।

यो सरासर प्रधानमन्त्री प्रचण्डको अपेक्षाविपरीत घटना हो। बालुवाटार सहमतिको २४ घण्टा नबित्दै उनले अर्को धक्का खाएका छन्।

यहाँनिर रोचक पक्ष के भने कोशीको धक्काले प्रचण्डलाई जति चोट पुगेको छ, त्यसले देउवालाई उतिसारो दुःखाएको छैन। बरु प्रचण्डलाई जत्तिकै दुःखाएको छ– कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई।

थापाले शनिबारै आफ्नो असहमति राखिसकेका छन्। गोरखा पुगेर थापाले कांग्रेसको माओवादीकरण वा एमालेकरण दुवै स्वीकार्य नहुने बताएका थिए।

आइतबार अर्का महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लामै टिप्पणी लेखेका छन्। उनको भनाइ छ, ‘(माओवादीसँग)डिभोर्स नै गर्ने हो भने सहमतिमा गर्न सकिन्छ तर घरमा ठाकठुक हुँदैमा छिमेकीसँग लहसिनुहुँदैन।’

कोशी घटनाबाट कांग्रेसकै उपसभापति एवं प्रचण्ड सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का झनै बेचैन छन्। कतिसम्म भने आफ्नै पार्टीको मुख्यमन्त्री बन्दा एक शब्द शिष्टाचारकै रूपमा पनि बधाइमा खर्च गरेका छैनन्। माओवादीसँगको गठबन्धनलाई नै दुर्घटनामा पार्न सक्ने भयले उनलाई गाँजेको छ।

गत महाधिवेशनमा देउवालाई कोइरालाले चुनौती दिएका थिए। कोइरालालाई महामन्त्रीद्वय थापा र शर्माले साथ दिए। देउवाको मोर्चामा रहेर विरोधीको तारो बन्नेमध्ये एक खड्का थिए। 

अहिले खड्कासँग थापा र शर्माको स्वर मिल्न थालेको छ। 

महामन्त्रीद्वय थापा र शर्मा अब कोइरालाले नेतृत्व गर्ने इतर खेमामा नरहेको स्पष्ट संकेत मिलेको छ।

कोइराला र कार्कीको कदममा देउवाको नरम र लाचार प्रस्तुतिले जे भनिरहेको छ, त्यो उपसभापति खड्कादेखि महामन्त्रीद्वय थापा र शर्मालाई पक्कै प्रिय लागेको छैन।

यही घटनाले कांग्रेसभित्र नयाँ प्रकारको ध्रुवीकरण भइहाल्छ भन्नु त हतार नै हुनेछ। 

तर, घटस्थापनाकै दिन चिर्कटो सहमतिको बलि चढाएर कोशीको विद्रोही कांग्रेस एमालेउन्मुख धारमा अडिग रहेको सन्देश दिएको छ।

नौरथाभरिमा कुनचाहिँ शक्तिपीठमा केकस्ता चहलपहल चल्छन् र विजयाको टीको कसले पाउने हो, बडादसैँ बडो कौतुहलपूर्ण बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .