ad ad

राजनीति


दीपक मनाङेलाई मन्त्री नबनाएकोमा गण्डकीका मुख्यमन्त्रीसँग माधव नेपाल रुष्ट

दीपक मनाङेलाई मन्त्री नबनाएकोमा गण्डकीका मुख्यमन्त्रीसँग माधव नेपाल रुष्ट

नेपालखबर
मंसिर २३, २०८० शनिबार १८:१२, पोखरा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दीपक मनाङेलाई मन्त्री नबनाइएकोमा गण्डकीमा मुख्यमन्त्रीप्रति रोष प्रकट गरेका छन्। उनले मनाङेलाई मन्त्री बनाउने सहमति भए पनि गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलटाल गरिरहेको आरोप पनि लगाए।

मनाङको प्रदेशसभा क्षेत्र नम्बर ‘ख’ बाट निर्विरोध दीपक मनाङे चुनावलगत्तै माधव नेपालको हातबाट टीका थाप्दै  एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनको समाजवादी पार्टी यात्रालाई मन्त्री बन्ने दाउको रुपमा अर्थ्याइएको थियो। अघिल्लो संसदमा पनि स्वतन्त्र सांसद रहेका र संसदीय अंकगणितमा बहुमत पुर्याउन महत्वपूर्ण सावित भएका उनी तीनपटक मन्त्री बनेका थिए।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार गठन हुँदा पनि उनी मन्त्री बन्ने चर्चा थियो। तर, कांग्रेस र माओवादी मिलेपछि सुविधाजनक बहुमत पाएका पाण्डेले मनाङेलाई मन्त्री दिएनन्। बरु, यसअघिका ११ मन्त्रालय घटाएर ७ मात्र बनाइएकाले धेरै मन्त्री बनाउन नसकिएको भन्दै उनी उम्किए।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजावादीका अध्यक्ष नेपालले नीतिगत रुपमा गठबन्धनमा रहेका दलहरुलाई सरकारमा सामेल गराउने केन्द्रीय सहमतिको स्मरणमात्र गरेनन्, मनाङेलाई मन्त्री बनाउनु आफ्नो दायित्व भएको पनि बताए।

‘सहमति (भागबण्डा) को कार्यान्वयन भइरहेको छैन। नीतिगत रुपमा हुन्छ भन्ने भएको छ तर व्यवहारिक रुपमा यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ,’पत्रकार सम्मेलनमा उनले भने,‘ मैले उहाँ (मुख्यमन्त्री)लाई अस्ति पनि भनिसकेँ तपाईं आलटाल नगर्नुस्। आज पनि म फोन गरौँला, मन्त्रिमण्डलमा सामेल गर्ने कुरामा ढिलाइ नगर्न भनेर बुझाएको हो।’

उनले नीति तथा योजना आयोगमा भने सहमति अनुसार नै आफ्नो पार्टीको सिफारिसमा सदस्य नियुक्त गरिएको जानकारी पनि दिए। उनले हरेक प्रदेशमा एकीकृत समाजवादीको सरकारमा सहभागिता हुने गरी सहमति भएको पनि जिकिर गर्दै सहमति कार्यान्वय हुने विश्वास रहेको सुनाए।  

उनी त्यत्तिमा रोकिएनन्। सांसद राजीव एकीकृत समाजवादीप्रति प्रतिवद्ध भएको जिकिर पनि गरे।

‘जहाँसम्म उहाँले कुरा गर्नुभयो, उहाँ पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ। मैले सोधेँ तुलबहादुर कमरेडलाई के छ? राजीव, हाम्रो माननीयको बारेमा,’ उनले भने, उहाँ (तुलबहादुर)ले भन्नुभयो हाम्रो पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ। हाम्रो पार्टीमै सामेल हुनुहुन्छ। अहिले पार्टीमै प्रतिबद्ध, सामेल हुनुहुन्छ भने, हाम्रो पनि जिम्मेवारी हो कि हामीले उहाँलाई पार्टीकातर्फबाट मन्त्री बनाउने।’

फरक प्रसंगमा अध्यक्ष नेपालले पछिल्लो समय देशमा चर्को ब्यााजदरले व्यापारी र व्यवसायीलाई मारमा परेको भए पनि त्यस्ता व्यवसायीहरुको लागि ब्याजदर घटाउनेदेखि ब्याज मिनाहका योजना ल्याउनुपर्ने बताए। ऋण मिनाह भने गर्न नहुने उनको भनाइ थियो।

अहिलेको ऋण र चर्को ब्याजदरको विषयमा पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दुईपटक पत्र बुझाएको, त्यसपछि झन्डै चारपटक भेटेको, दुई पक्षीय र त्रीपक्षीय, बहुपक्षीय र विज्ञसँग छलफल गर्नका लागि पटकपटक प्रस्ताव राख्दा प्रधानमन्त्री सकारात्मक देखिएको पनि उनको भनाइ थियो।

अर्थतन्त्रसँग जोडिएका व्यक्तिलाई राखेर छलफल प्रारम्भ गरेको भन्दै उनले प्रधानमन्त्रीलाई धन्यवाद पनि दिए।

‘मैले धन्यवाद किन दिएको भन्दाखेरी मलाई कसैले धन्यवाद नै दिँदैनन् भन्ने उहाँको (प्रचण्डको) गुनासो छ। त्यसैले धन्यवाद त मैले दिन पर्यो । गरेको राम्रो कामको प्रसंशा गर्नुपर्यो,’ उनले थपे।  

एनसेल प्रकरणबारे एमाले अध्यक्ष केपी ओलीको मौनताप्रति पनि उनले प्रश्न उठाए। अहिले देशभरको यात्रामा कहीँ पनि एनसेलको काण्डमा चुइक्क बोलेको देखिँदैन,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .