ad ad

राजनीति


राष्ट्रिय सभामा विजेता १९ उम्मेदवारः जो फागुन २० पछि सदनमा हुनेछन्

राष्ट्रिय सभामा विजेता १९ उम्मेदवारः जो फागुन २० पछि सदनमा हुनेछन्

नेपालखबर
माघ ११, २०८० बिहिबार २२:१४, काठमाडौँ

राष्ट्रिय सभामा १९ सदस्य निर्वाचित भएका छन्। फागुन २० बाट रिक्त हुने २० सिटमध्ये निर्वाचनबाट पूर्ति हुने १९ सिटका लागि ७ वटै प्रदेशमा बिहीबार निर्वाचन भएको थियो। एक जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।

निर्वाचनमा एक सिटमा मात्र एमाले विजयी भएको छ भने बाँकी १८ सिटमा सत्ता गठबन्धन विजयी भएको छ।

कांग्रेसले १० सिटमा विजय हासिल गर्दा एमालेले १ सिट मात्र जित्न सफल भएको छ। 

सत्ताको नेतृत्वकर्ता दल माओवादीले ६ सिटमा उम्मदेवार उठाए पनि ५ सिट मात्र जित्न सक्यो। कोसीमा माओवादी सत्ता गठबन्धनको अन्तर्घातको सिकार बन्यो। 

एकीकृत समाजवादीले २ सिट सुरक्षित गरेको छ भने जसपाले १ सिट जोगाएको छ।  


कोसी प्रदेशः १ कांग्रेस, १ एमाले 
कोसी प्रदेशबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेबाट रुक्मिणी कोइराला विजयी भएका छन्। 

उनले नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार उद्धव पौडेललाई हराउँदै राष्ट्रिय सभाको यात्रा पक्का गरेका हुन्। 

प्रदेश सभाको मतगणनामा पछि परे पनि सिटौला स्थानीय तहमा एमालेका समेत केही मत तानेर विजयी भएका हुन्। उनले ५ हजार २९५ मतभार पाए। 

उनका प्रतिद्वन्द्वी पौडेलले ४ हजार ५६२ मतभार पाए।

आगामी सिटौलालाई राष्ट्रिय सभा अध्यक्षका रूपमा हेरिएको छ। हालका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अवधि फागुन २० बाट सकिँदै छ। 

कोसी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा महिलातर्फ नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्।

नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्।

कोइरालाले ५ हजार ८६  मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाइन्। 

कार्की नेकपा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। उता एमालेकी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको थियो। 

कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए। सत्ता गठबन्धनबाट क्रस मत तान्न सफल कोइरालाले राष्ट्रिय सभाको यात्रा पक्का गरिन्। 

उनले सत्ता गठबन्धनका तीनजनाको मत तानेकी हुन्। मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ। 

कोसीमा एमाले र राप्रपाले गठबन्धन गरेका थिए। कोसी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद थिए। कोइरालाले एमाले-राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानिन्।

कोइरालाको पक्षमा ४९ जनाको मत खसेको हो। सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाइन्। कोसीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन्।

मधेस प्रदेशः १ कांग्रेस, १ जसपा

राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशतर्फका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

मधेसबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका हुन्। 

ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याइन्।

बागमती प्रदेशः २ कांग्रेस, १ माओवादी, १ एस 
राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका चारैजना उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको मतदानमा अपांगतातर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी विजयी भएका छन्। उनको पक्षमा ६ हजार ३८३ मतभार परेको छ। 

बागमतीमा अन्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत विजयी भएका छन्। बस्नेतको पक्षमा ६ हजार ५२१ मतभार देखियो।

बागमतीमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी पुडासैनी महिलाबाट विजयी भएकी छन्। पुडासैनीका पक्षमा ६ हजार ६२६ मतभार पर्‍यो।

बागमतीमै नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल चुनिएका छन्। दलित क्लस्टरका उम्मेदवार रिजाल विजयी भएका हुन्। रिजालको पक्षमा ६ हजार ५१२ मतभार आयो। 

लुम्बिनी प्रदेशः १ कांग्रेस, १ माओवादी

लुम्बिनी प्रदेशबाट २ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

लुम्बिनीबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम अनुसार, कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

सापकोटाले ५४३५ मत भार प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन्।

अन्यतर्फ सुवेदीले एमालेका उम्मेदवार झपेन्द्र जिसीलाई पराजित गरे। यस समूहमा राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरीले उम्मेदवार थिए।

गण्डकीः २ कांग्रेस, १ माओवादी  
गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनवटै उम्मेदवार राष्ट्रिय सभामा निर्वाचित भएका छन्। 

सत्ता गठबन्धको तर्फबाट महिलामा पर्वतकी मनरुपा शर्मा , खुला (अन्य) तर्फ  गोरखाका किरणबाबु श्रेष्ठ र अपांगता-अल्पसंख्यकतर्फ तनहुँका पदम परियार विजयी भएका हुन्।

मनरुपा माओवादी केन्द्र र बाँकी दुईजना कांग्रेसबाट उम्मेदवार थिए। 

मनरुपा ३ हजार ६६० मतभारसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ र राप्रपाकी १०६ मत प्राप्त गरिन्।

अपाङ्ग-अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियारले ३ हजार ७७४ मतभार प्राप्त गर्दा एमालेका हेमन्त शेरचनले  २ हजार ४५८ मतभार प्राप्त गरे। 

खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ ३ हजार ८०८ मतभारसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत प्राप्त गरे।

कर्णाली प्रदेशः १ कांग्रेस, १ माओवादी, १ एस
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णालीबाट सत्ता गठबन्धनका तीनवटै उम्मेदवार विजयी भएका छन्।

कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल र माओवादीबाट कालीकोटका विष्णु विक विजयी भएका हुन्।

रोकाया अन्यतर्फ, मल्ल महिलातर्फ र दलिततर्फ विक उम्मेदवार थिए।

नेकपा एमालेका उम्मेदवार विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्ट पराजित भए।

महिलातर्फ मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ ११५ मत र एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरेकी छन्।

यस्तै, दलिततर्फ विजयी गठबन्धनका विष्णु विकले प्रदेश सभामा २९ मत र स्थानीयतर्फ १२० मत प्राप्त गरेका छन्। एमालेका हिक्मत विक प्रदेश सभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरेका छन्।

अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत र स्थानीयतर्फ १२० मत प्राप्त गरेर जित हासिल गरे। एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशः २ कांग्रेस, १ माओवादी

सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार नै विजयी भएका छन्।

सत्ता गठबन्धनमा दुई सिटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो।

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन्।

बोहराले ४ हजार ३२८, भट्टले ४ हजार ४१९ र  चन्दले ४ हजार ३२८ मतभार हासिल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .