राजनीति


अर्थमन्त्री बैठकबाट बाहिरिएपछि बोल्न मानिनन् राप्रपा सांसद लामा

अर्थमन्त्री बैठकबाट बाहिरिएपछि बोल्न मानिनन् राप्रपा सांसद लामा

तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
चैत ७, २०८० बुधबार १३:२६, काठमाडौँ

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुन आफ्ना भनाइ राखेर हिँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले नियमापत्ति गरेको छ।

प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष ०८१-८२ को बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा सांसदहरुले बोल्ने क्रम जारी रहेका बेला अर्थमन्त्री बाहिरिएका थिए।

सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र रास्वपासँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले बोल्ने समयमा संसद्‍मै रहेका अर्थमन्त्री पुन राप्रपा सांसदले बोल्न लाग्दा सदनबाट बाहिरिएपछि नियमापत्ति भएको हो। 

प्रतिनिधि सभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले रास्वपाका सांसद शिरिर खनालले बोलेपछि राप्रपाकी सांसद बिना लामालाई बोल्न समय दिइन्। सभामुखले समय दिएपछि उभिएकी सांसद लामाले अर्थमन्त्री उपस्थित भए मात्रै बोल्ने अडान लिइन्।

‘माननीय सदस्यहरु अर्थमन्त्रीज्यूले अर्को प्रतिनिधि राखेर खाना खान जानु भएको छ। उहाँ आउँदै हुनुहुन्छ’, रानाले त्यतिभन्दा राप्रपा सांसदले चित्त बुझाएनन्।

‘सभामुख महोदय यसमा पनि अलिक फरक भयो। राप्रपाले सदनमा बोल्ने पालो आउनासाथ अर्थमन्त्री हिँड्नु भयो। यसमा विभेद छ। यो विभेदकारी हो। म आपत्ति जनाउन चाहान्छु। हामीलाई अर्थमन्त्री चाहियो’, लामाले भनिन्।

राप्रपाले अर्थमन्त्रीबिना नबोल्ने अड्डी लिएपछि उपसभामुख रानाले ‘बोल्दै जानुहोला म मन्त्रीज्यू आउन्जेल बोल्ने समय दिन्छु’, भनिन् । तर, राप्रपा सांसद लामाले बोल्न मानिनन्।

राप्रपा सांसदले नबोल्ने भनेपछि सभामुख मगरले जसपाका सांसद प्रदीप यादवलाई बोल्न समय दिइन्। त्यहीबेला अर्थमन्त्री पुन संसद् बैठकमा टुप्लुक्क आइपुगे। मन्त्री पुन आएपछि मात्रै राप्रपा सांसद लामाले बोल्न थालिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .