ad ad

राजनीति


दलका अध्यक्ष, प्रधानमन्त्री र मन्त्री भइसकेका सबै नेताको सम्पत्ति छानबिन गरौँ : गगन थापा

दलका अध्यक्ष, प्रधानमन्त्री र मन्त्री भइसकेका सबै नेताको सम्पत्ति छानबिन गरौँ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १२:४२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र मन्त्रीसहित सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। 

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

भ्रष्टाचारविरुद्ध संसदमा चलिरहेको बहसले ठिक ठाउँमा लाने अपेक्षा उनले गरेका छन्। थापाले कांग्रेस, एमाले र माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने पनि उल्लेख गरेका छन्। 

‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्रीहरू र हामी जस्तो मन्त्री भएकाहरू  सबैको सम्पत्ति छानबिन गरौँ’, उनले भने। 

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने थापाले बताएका छन्।

ठूला काण्डहरूमा जो जो संलग्न र जिम्मेवार छन्, उनीहरूले कुनै न कुनै रुपमा दण्ड पाउनुपर्ने उनले बताए। ‘आमजनता र नागरिकलाई राज्यसँग भर होस्', उनले भने, 'गलत गर्ने मान्छेलाई राज्यसँग डर होस्, सजाय होस्, दण्डित गरियोस्।’

सार्वजनिक सम्पत्तिको अपचलन, सहकारीको बचत ठगी प्रकरणसहित सबै विषयमा छानबिन हुनुपर्ने उनले बताए।

सहकारीबाट अर्बौँ रकम खानेहरू केही अघिसम्म विज्ञका रूपमा भाषण गर्दै हिँडेको आफूले देखेको थापाले बताए।

‘खाएर जाने मान्छेहरूलाई हेर्ने त निकाय बनेको छ। विभिन्न अड्डा र निकाय पनि छन्। तर कसैले पनि किन हेर्दैनन्?,’  थापाले भने।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ पछि अनियमितमा मुछिएकाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति माग गरेको सन्दर्भमा थापाले सबैमाथि अनुसन्धानका लागि तयार हुनुपर्ने बताए। 

यसअघि कांग्रेस महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि भ्रष्टाचार रोक्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउन आफूहरू तयार रहेको बताइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .