ad ad

राजनीति


कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

नेपालखबर
बैशाख ३, २०८१ सोमबार २१:५७, काठमाडौँ

नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दुःख व्यक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो।

स्वर्गीय न्यौपाने विस २०४९ मा जिल्ला विकास समितिको गोरखाको सभापति भएका थिए। २०६४ सालको संविधानसभाको निर्वाचनमा गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेका थिए।

विस १९९९ वैशाख १३ गते गोरखाको सिरानचोक गाउँपालिका–४ मा जन्मेका न्यौपानेले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका क्रममा पटक–पटक हिरासत र जेलजीवन बिताएको कांग्रेसले जनाएको छ।

विसं २०१७ मा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा सञ्चालित हरेक आन्दोलन र सङ्घर्षहरुमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

न्यौपानेको निधनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। देउवाले स्व न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन र लोकतन्त्रको पक्षमा निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन्।

सभापति देउवाले स्व न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .