नेकपा (एमाले) बाट निष्काशित नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्न अपिल गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले आफूलाई पार्टीबाट हटाउने ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही कदम भनेका छन्।
रावलले लेखेका छन्, ‘नेकपा (एमाले) को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो। कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं बिचौलिया र दलालहरूलाई काखि च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन। सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु।'
बुधबार एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टी सदस्य समेत नरहने गरी निष्काशित गर्ने निर्णय गरेको थियो।
यस्तै, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गादान लिएर एमालेले कीर्तिपुरमा भवन बनाउने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले सार्वजनिक टिप्पणी गरेका थिए।
गत कात्तिक ४ गते बसेको एमाले सचिवालय बैठकले रावल, पाण्डे र तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
के.पी. गुटकाे असहिष्णु, निषेधात्मक र निहित स्वार्थी चरित्र निरंकुश, तानाशाही र स्वेच्छाचारी व्यवहारमा छताछुल्ल भयाे । बाँकिः pic.twitter.com/v9e3SArE2x
— Bhim Rawal, PhD (@BhimRawal179) December 26, 2024
Shares

प्रतिक्रिया