राजनीति


कांग्रेसका पुराना दुई गुट भताभुंग, ‘ओत लाग्ने’ ठाउँ खोज्दै नेताहरू

विश्लेषक भन्छन् : अब कांग्रेस प्रगतिशील र कन्जरभेटिभ धारमा बाँडिन्छ
कांग्रेसका पुराना दुई गुट भताभुंग, ‘ओत लाग्ने’ ठाउँ खोज्दै नेताहरू

सन्तोष अधिकारी
फागुन ५, २०८१ सोमबार २१:२, काठमाडौँ

नेपाली कांग्रेसमा स्थायी रूपमा दुई गुट रहँदै आएको छ। एउटा संस्थापन र अर्को इतर। अहिले कांग्रेसमा संस्थापन समूहको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्दै आइरहेका छन् भने इतर समूहको नेतृत्व शेखर कोइराला र गगन थापाले गरिरहेका छन्।

यी दुई गुट पार्टीको १४औँ महाधिवेशनमा बनेका हुन्। 

तर, अहिले परिस्थिति फेरिएको छ। यी गुट तितरबितर हुन थालेका छन्। शेरबहादुर देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्न नपाउने भएपछि पुराना गुट भत्किएका हुन्। कांग्रेसको विधानले सभापति पदमा दुईपटक भन्दा धेरै उम्मेदवार बन्न मिल्दैन।

१५औँ महाधिवेशन कहिले हुने टुंगो नभए पनि १४औँमा पराजित शेखर कोइराला पुन: सभापतिको उम्मेदवार बन्ने घोषणासहित तयारीमा लागिसकेका छन्। अरु कोको सभापतिको उम्मेदवार हुने भन्ने अझै टुंगो छैन। 

देउवा एकपटक प्रधानमन्त्री बन्नुबाहेक अब शक्ति र सत्तामा नहुने अहिलेका उनीनिकट भनिनेहरूले बुझिसकेको विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन्।  

'सभापति शेरबहादुर देउवा शक्ति र सत्तामा हुँदासम्म नेताहरू उहाँकै वरिपरि भए। एकपटक प्रधानमन्त्री बन्नेबाहेक देउवा अब सत्ता वा शक्ति केन्द्रका रूपमा रहँदैनन् भन्ने देउवा समूहका नेता-कार्यकर्ता सबैले बुझेको देखिन्छ,' वाग्ले नेपालखबरसँग भने, 'त्यसैले शक्तिकेन्द्रका रूपमा नरहने भएपछि देउवा समूहका नेता-कार्यकर्ताहरू राजनीतिक संरक्षण गर्ने नेताको खोजीमा लागिसकेका देखिन्छन्।'

उनका अनुसार देउवा समूहका नेताहरू संरक्षण गर्ने नेताको खोजीमा छन्। उनीहरू त्यहीअनुसारको तयारीमा लागेको र जसलाई जहाँ सहज हुन्छ त्यहाँको समीकरणमा जान खोजेको शर्माको भनाइ छ। 

देउवा अनिवार्य अवकाशमा जाने भएपछि देउवा समूह विभाजित हुने सम्भावना देखिन्छ। देउवा समूह विभाजित हुनुलाई विघटन हुनु सरह मानिने शर्माको भनाइ छ। 

इतर भनिने शेखर-गगन समूह पनि विभाजन हुने देखिन्छ।

१४औँ महाधिवेशनमा सभापतिमा शेखर र महामन्त्रीमा गगन एकै समूहबाट उम्मेदवार बने। शेखर दोस्रो चरणमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित हुँदा गगन अत्यधिक मतका साथ महामन्त्री निर्वाचित भए। अहिले भने राजनीतिक परिस्थिति फेरिएकोले यी दुई पनि फरक-फरक समूहबाट सभापतिकै उम्मेदवार हुने तयारीमा छन्। 

शेखर-गगन एकै समूहमा रहेर फेरि पनि चुनाव लड्ने तयारी भएको भए यो समूह एक रहने थियो।

'शेखर-गगन दुवैजना सभापतिको आकांक्षी भएको परिदृश्यमा यो समूह पनि विभाजित हुँदै विघटन हुने देखिन्छ,' वाग्लेले थपे, 'उता देउवाको समूह विभाजित हुने भनेको विघटन हुनु सरह हो।' 

शेखरनिकट नेता के भन्छन्?
नेता गुरुराज घिमिरे शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापति बनाउनुपर्छ भनेर सचिवालय नै स्थापना गरी लागिरहेका मध्ये एक नेता हुन्। उनले पनि यसअघिको परम्परागत गुट १५औँ महाधिवेशनमा कायम नहुने बताए। 

'१५औँ महाधिवेशनलाई पार्टीका धेरै नेताहरूले जीवनकै टर्निङ पोइन्ट बनाउने देखिन्छ,' घिमिरेले नेपालखबरसँग भने, 'हाम्रा धेरै नेता १५औँ महाधिवेशनको समयमा ७० नाघेको अवस्था हुन्छ। पार्टीको ठूलो हिस्सा मूल नेतृत्वमा नपुग्दै किरान लाग्छन्।'

उनले पार्टीमा नयाँ ध्रुवीकरण हुँदा नेताहरू कसको ओत लाग्ने भनेर छुट्टिने बताए।

'पार्टीमा कोइराला र देउवा भन्ने सेन्टिमेन्ट त हुन्छ नै तर अब नेताहरू कहाँ ओत लाग्ने भन्ने टुंगो छैन,' घिमिरेले थप भने, 'अब पुरानो विरासत र गुटको सेन्टिमेन्ट त रहँदैन।'

परम्परागत दुवै समूह विघटन भएपछि सैद्धान्तिक-वैचारिक आधारमा नयाँ समीकरण र ध्रुवीकरण सुरु हुने देखिन्छ। 

ध्रुवीकरण र नयाँ समीकरण बन्दा परम्परागत र नयाँ गरी दुई धार हुने सम्भावना देखिने विश्लेषक वाग्लेको दाबी छ।  

'यस्तो ध्रुवीकरण तथा समीकरण हुँदा ०६२–६३ को जनआदोलनद्वारा स्थापित गणतन्त्र, लोकतन्त्र, समावेशीकरणलगायत उदारवादी र प्रगतिशील धारको नेतृत्व एकले र बाँकी कन्जरभेटिभ धारतर्फ उन्मुख हुने सम्भावना देखिन्छ,' उनले भने, 'उदारवादी, प्रगतिशील र जनतामुखी धारको नेतृत्व स्थापित हुने सम्भावना बढी देखिन्छ।'

वाग्लेले कांग्रेस स्थापना हुँदादेखि नै उदारवादी, प्रगतिशील र जनमुखी धारकै नीति र नेतृत्व हुँदै आएको र अब पनि त्यस्तै हुने बताए।  

'बीपी कोइरालाले पनि उदारवादी, प्रगतिशील, समावेशीकरण र जनमुखी धारको नेतृत्त्व गर्नुभएको थियो। तर, मातृकाप्रसाद कोइराला कन्जरभेटिभ हुनुहुन्थ्यो,' उनले थपे, 'कांग्रेसमा स्थापनादेखि नै उदारवादी, प्रगतिशील र जनमुखी धारको नीति र नेतृत्त्व स्थापित हुँदै आएको छ र अब पनि सोही धार, नीति र नेतृत्त्व स्थापित हुने देखिन्छ।'

गगननिकट नेता भन्छन् : पराम्परागत परिपाटी भत्किन्छ
कांग्रेसका अर्का नेता मधु आचार्य पनि १५औँ महाधिवेशनसम्म पुग्दा परम्परागत राजनीतिक परिपाटी भत्किने बताउँछन्।

'परम्परागत परिपाटी त अब रहँदैन र रहनु पनि हुँदैन,' उनले नेपालखबरसँग भने, 'कांग्रेस १४औँ महाधिवेशनको अवस्थामा छैन। समय, परिस्थिति र राजनीतिक परिवर्तन सबै फेरिसकेको छ। परिवर्तनसहितको कांग्रेस जहाँ सबै समेटिन सक्नेछन् त्यस्तो हुनुपर्ने छ।'

उनले शेखर-गगन मिलेको खण्डमा राजनीतिक परिवर्तनसहितको ध्रुवीकरण थप बलियो हुने पनि बताए। 

'शेखर कोइरालाले पनि १४औँ महाधिवेशनमा समेट्न नसकिएकाहरूलाई अब समेट्ने भनेर भनिरहनु भएको छ। गगन थापाले पनि अहिलेसम्म आफूहरू सँगै रहेको बताउँदै आउनु भएको छ,' गगन थापानिकटका नेता आचार्य भन्छन्, 'अब १५औँ महाधिवेशनमा पनि यही माहोल कायम भए कांग्रेस थप बलियो हुनेछ। अबको महाधिवेशनमा कांग्रेसमा नयाँ ध्रुवीकरण भने हुन्छ हुन्छ।' 

'देउवाले कसैलाई अघि सारे टिम भत्किँदैनथ्यो'
सभापति देउवानिकट नेता मीन विश्वकर्माले शेरबहादुर देउवाले दुईदुईपटक पार्टीका फरक धारलाई पनि मिलाउँदै पार्टी सभापति भएको र अब उनी सभापति नहुने अवस्थामा भने धेरै परिवर्तन हुन सक्ने बताउँछन्।  

'अब शेरबहादुर देउवा सभापतिको उम्मेदवार नहुने अवस्थामा उहाँ नै भनेका व्यक्तिहरू के गर्छन् भन्ने आम चासो हो। उहाँसँगै रहेका सिनियर नेताहरूमध्ये देउवाले एकजनालाई सभापतिको उम्मेदवार हो भनेर भनिदिनु भयो भने यो टिम केही हुने देखिँदैन,' उनले नेपालखबरसँग भने, 'होइन मैले अब कसैलाई चित्त दुखाउँदिन तटस्थ बस्छु भन्नु भयो भने चाहिँ ‍परम्परागत गुटहरू भत्किनेछन्। नयाँ ध्रुवीकरण हुनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad