प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्ने देखिएको आरोप लगाएका छन्।
‘दुईतिहाई लोकतन्त्र, संघीय गणतन्त्रका लागि घातक हुने त होइन भनेर जनतामा आशंका बढेको छ, तपाईँहरूको संख्याको अहंकारबाट जनता सडकमा ओर्लिए,’ मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यसबीचमा लोकतन्त्रको लक्ष्मणरेखा नाघ्ने। यसको जन्म, लोकतन्त्रविरुद्ध भयो। जबकि, पहिलो र दोस्रो पार्टी मिल्ने नै लोकतन्त्रविरुद्ध छ। सबैभन्दा ठूलो पार्टी नेतृत्वमा सरकार नबनाएर बलमिच्याइँ गर्नुभयो। त्यही विन्दुबाट लोकतन्त्रमाथि नराम्रोसँग प्रहार गरेको जनताले महसुस गरेको छ। त्यो आगो लोकतन्त्रविरुद्ध हुने हो कि।’
प्रचण्डले कुनै हालतमा प्रतिगमनलाई सफल हुन नदिइने बताए। ‘प्रतिगमन रोक्ने छौँ, तर, दुईतिहाइको कुशासनको घोडा नै लोकतन्त्रको संकट बन्दैछ, लाखौँ जनतालाई सडकमा पुर्याउँदैछ।’
पछिल्लो आठ महिना सरकारले जनचाहनालाई उपेक्षा गरेको उनको आरोप छ। ‘मैले पटकपटक भनेको छु, आज हामी सबै जनताको अत्यन्त सघन निगरानीमा छौँ। तर, तपाईंहरूले जनचाहनालाई बारम्बार उपेक्षा गरिहनुभएको छ। पछिल्ला आठ महिनामा तपाईंहरूले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनुभएको छ,' उनले भने, 'एकअर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो गंगा नदीमा, तर फोहोर भयो लोकतन्त्र। बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा । गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरुको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो । तपाईहरुप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ भन्ने कुरालाई कत्तिको आत्मसमीक्षा गर्नुभएको छ ?’
Shares

प्रतिक्रिया