राजनीति


प्राधिकरणबाट कुलमानलाई हटाउने सरकारी निर्णयको विपक्षी दलले संसद्‍मा प्रतिवाद गर्ने

प्राधिकरणबाट कुलमानलाई हटाउने सरकारी निर्णयको विपक्षी दलले संसद्‍मा प्रतिवाद गर्ने

नेपालखबर
चैत १३, २०८१ बुधबार १०:४६, काठमाडौँ

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलले सरकारका गलत निर्णयको संसद्‍मै प्रतिवाद गर्ने भएका छन्। 

नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको बैठकले सरकारको सर्वसत्तावाद र राजनीतिक दम्भको संसदमै प्रतिवादन गर्ने निर्णय  गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 

‘सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जसरी बर्खास्त गरेको छ, त्यो सर्वसत्तावाद हो,’ परियारले नेपालखबरसँग भने, ‘सबै विपक्षी दलले आजको संसद् बैठकमा त्यसको प्रतिवाद गर्ने निर्णय भएको छ।’ 

उनले संसद्‍मा सरकार जसरी प्रस्तुत हुन्छ, त्यहीअनुसार विपक्षी दल अघि बढ्ने बताए। ‘अहिले संसद् बैठक अवरुद्ध गर्ने निर्णय भएको छैन। तर सरकारले विपक्षीका आबाज सुनेन भने त्यहीअनुसार हामी अघि बढ्छौँ,’ परियारले भने। 

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङलाई सरकारले अपमानपूर्वक हटाएको ठहर गरेका छन्।  

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल,  उपाध्यक्ष डा‍. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी थिए। 

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा राजतन्त्रको विरोध र गणतन्त्रका पक्षमा प्रदर्शन तथा आमसभासमेत गर्दैछ।  

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad