राजावादीहरूले जेठ १५ गतेदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। आन्दोलनलाई निर्णायक बनाउने भन्दै राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल लगायतका दलले आफ्ना पक्षका नेता र कार्यकर्तालाई कम्तीमा एक हप्ता काठमाडौँमै बस्नेगरी बोलाएका छन्।
गणतन्त्रलाई धक्का दिएर राजसंस्था पुनर्स्थापना गर्न अन्तिम प्रयासमा उनीहरू लागेको बताउँछन्। दुई दिन शान्तिपूर्ण प्रदर्शन गरेका यी दलका नेता कार्यकर्ता आइतबार प्रहरीसँग धकेलाधकेलमा उत्रिए।
त्यसको नेतृत्व राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरे। राजा फाल्नका लागि ऐतिहासिक जनआन्दोलन हुँदाका गृहमन्त्री हुन् थापा।
प्रशासनले तोकेको निषेधित क्षेत्र तोड्न उनी अगाडि सरे। जसकारण उनलाई प्रहरीले पक्राउ गर्यो। उनीसँगै राप्रपाका सांसद दीपकबहादुर सिंहसहित ७ जना पनि पक्राउ परेका छन्। यद्यपि, उनीहरूलाई प्रहरीले केही घण्टा राखेर छोडिसकेको छ।
चैत १५ गतेको हिंसात्मक विध्वंशपछि तितरवितर भएका राजवादी दल अहिले संगठित भएर आन्दोलन गरिरहेका छन्। उनीहरूले अब मुठभेडमै उत्रिने र प्रदर्शनलाई भड्काउने प्रयास गर्नसक्ने देखिएको सुरक्षा निकायका अधिकारीहरूको भनाइ छ।
यद्यपि, सत्तारुढ दलका नेताहरू कुनै हालतमा आन्दोलन सफल हुन नदिने बताउँछन्। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनताले सात दशक लामो संघर्ष गरेर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र र यसलाई संस्थागत गर्न बनेको संविधानको विकल्प नभएको दाबी गरे।
राजावादी दलले आफ्ना एजेन्डाहरू लागू गर्ने हो भने संविधानभित्रको बाटो हिँड्न उनले सुझाव दिए।
‘उहाँहरूले जे माग गरिरहनुभएको छ, त्यो आफैँमा पश्चगामी, अलोकतान्त्रिक हो र एकदमै ‘फेलियर’ माग हो,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘अहिले उहाँहरूले सडकमा भीड जम्मा गरेर व्यवस्था उल्टाउन सकिन्छ कि भन्ने कुरा गरिरहनुभएको छ, त्यो किमार्थ सम्भव छैन। यो आन्दोलन पनि होइन र त्यो खालको सहभागिता पनि छैन। त्यही भएर यो सफल हुने कुनै सम्भावना नै छैन।’
राजतन्त्र र प्रजातन्त्र सँगै हिँड्ने बाटो पहिले नै बन्द भइसकेको उनको स्पष्टोक्ति छ।
‘राजतन्त्र र प्रजातन्त्रसँगै लग्न सकिन्छ कि भनेर प्रयास हुँदा तीनै पटक जनतालाई धोका दिइयो। भागेर दिल्ली पुगेका त्रिभुवनलाई सात सालमा फर्काएर ल्याएर जनताले गद्दीमा राखे। विस्तारै शक्ति आर्जन गर्दै आफैँले भनेको संविधान सभाको चुनाव लत्याउँदै लगेर अन्ततः ०१७ सालको घटना घट्यो, महेन्द्रको पालामा। एउटा प्रयास त्यहीँनेर फेल भयो,’ उनी भन्छन्, ‘३० वर्ष लामो संघर्ष गरेर पञ्चायत हटाई २०४६ सालमा एउटा सम्झौता भयो, राजालाई सम्मान, जनतालाई अधिकार भनेर। तर, त्यो अधिकार पनि खोस्ने प्रयास भयो। अझ ज्ञानेन्द्रकै हकमा त उहाँ स्वाभाविक उत्तराधिकारी पनि होइन। दरबार हत्याकाण्डपछिको विषम परिस्थितिमा बेग्लै ढंगले उहाँ आउनुभयो। नआउनुपनि सक्नुहुन्थ्यो। तैपनि माओवादीसँग द्वन्द्व भइरहेको बेला थप ठूलो द्वन्द्वमा नजाओस् भनेर दलहरूले भूमिका खेले त्यो बेला। तर, यसको परिणाम के भयो? एकडेढ वर्षपछि त सबै नेताहरूलाई जेल हाल्नुभयो।’
‘यी तीनपटकका प्रयासहरूको एउटै निष्कर्ष के हो भने राजतन्त्र र प्रजातन्त्रसँगै जान सक्तैनन्,’ ज्ञवालीले थपे, ‘राजतन्त्र रहनुको अर्थ प्रजातन्त्रमाथि पटकपटक आक्रमण हुन्छ भन्ने निष्कर्ष र सोचका साथ मुलुकले गणतन्त्रको बाटो पछ्याएको हो। यसलाई उल्टाउने कुनै गुञ्जायस नै छैन।’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजावादी दलको प्रदर्शन संविधानकै खिलाफ भएको बताए।
‘जनताले बनाएको संविधान हो त्यो नै सुप्रिम हो। त्यसको विरुद्ध जान सकिन्न। यद्यपि, राजवादीको प्रदर्शन उदारताका साथ सुनिदिएको हो,’ महतले भने, ‘संविधानमा संशोधनको व्यवस्था छ। सबै कुरा छ। त्यो प्रक्रियाभन्दा अरु छैन। राजा फर्काउने कुरा सम्भव छैन।’
पहिला अधिकार नपाएको, जनताले बनाएको संविधान नभएको र आफ्नो अभिव्यक्ति राख्न नपाएकोले विद्रोह सफल भएको महतको भनाइ छ। तर, अहिले सबै कुरा पाएकोले यस्ता प्रदर्शन सफल नहुने उनी बताउँछन्।
‘हिजो संवैधानिक राजा मान्दा पटकपटक धोका भएको हुनाले फेरि धोका पाउने जोखिम हाम्रो पार्टीले लिन सक्तैन। यसलाई बढाइरनु निरर्थक हो,’ उनले भने।
कडाइ गर्दै सरकार
८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिले यो प्रदर्शनको संयोजन गरिरहेको छ। उनकै पछि लागेर अन्य राजावादी दल पनि मिसिएका छन्।
तर, आइतबारको प्रदर्शनमा बल प्रयोग गर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र थप बढाएको छ।
चैत १५ गतेको तीनकुने घटनामा आलोचित बनेको सरकार यसपटक हरेक कुरामा सतर्क देखिन्छ।
त्यसमाथि, प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिन राजवादीप्रति निकै आक्रमक रूपमा प्रस्तुत भइरहेका छन्। पछिल्ला एक हप्तायताका उनका अभिव्यक्ति राजावादीप्रति लक्षित छ।
शनिबार उनले ज्योतिषीलाई हेराएर गरिएको राजावादीको प्रदर्शन सफल नहुने ठोकुवा गरे।
‘संघीय लोकतान्त्रिक गणतन्त्र परिवर्तन नहुने व्यवस्था भएको पनि ज्योतिषीहरूलाई ख्याल रहोस्,’ ओलीले भने, ‘अहिले स्थिर सरकार रहने कुण्डली छ, त्यो हेर्नु पर्दैन? नेपालको कुण्डली हेर्नुपर्यो नि, त्यो हेर्ने हो भने स्थिरता, स्थायित्व, विकास। त्यो पो छ त देशको कुण्डलीमा। देशको कुण्डलीभन्दा एउटा व्यक्तिको कुण्डली ठूलो हुन्छ?’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राजावादीप्रति आक्रामक अभिव्यक्ति दिइरहेका छन्।
‘जनताको मन मस्तिष्कमा नारायणहिटी दरबार हत्याकाण्ड के हो भन्ने कुरा नयाँ युवाहरूलाई थाहा छैन शान्ति सम्झौतापछि जन्मिएर अब भोट हाल्ने उमेर भएका उनीहरू त राजाले के सम्म गरे? नमिता, सुनिता बलात्कार र हत्याकाण्ड राजाका भाइहरू र राजाहरूले नै गरेको भन्नेकुरा थाहै छैन, त्यो तपाईं हामीले भनिदिनुपर्ने हुन्छ, यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका,’ काठमाडौँमा वाईसीएलको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले भने।
राजावादीहरू भने प्रदर्शनलाई चर्काएर कांग्रेस र एमालेभित्रका हिन्दूवादी तान्ने दाउमा छन्। त्यही भएर नवीन समझदारीको कुरा उठाएका छन्।
यसको पनि कुनै पनि सम्भावना नभएको एमाले उपमहासचिव ज्ञवालीको भनाइ छ।
‘उहाँहरूले गर्न सक्ने एउटै कुरा भनेको संविधानभित्र प्रतिस्पर्धाको राजनीति गर्दै आफ्नो शक्ति बढाउँदै लगेर संविधानभित्र सुधार गर्दै जाने हो। जनताको मन जितेर आफ्नो स्ट्रेन्थको आधारमा संविधान संशोधन गर्दै जाने,’ उनले थपे, आफूलाई अलग राजनीतिक शक्तिका रूपमा वर्तमान राज्यले मान्यता देओस्, कुनै सम्झौता गरोस् भन्ने सोच्नुभएको छ भने त्यो पनि सम्भावना छैन।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको र आफूहरूको भद्रतालाई कमजोरी नठान्न उनले चेतावनी दिएका छन्।
‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेको हो, एकजना प्रहरी मर्नु नपरोस् एकजना पनि नागरिक मर्नु नपरोस् भनेर शान्तिपूर्ण बाटो अपनाएको हो,’ आइतबार नारायणचौरमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो अभियानमा दुईचार हजार युवा बन्दुक बोकेर जंगल पस्न तयार छैनन् होला त? हामीले दुईरचार ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त? हामीले त्यो चाहेकै छैनौँ।’
Shares

प्रतिक्रिया