पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था फेडरेशन अफ इन्टरनेशनल जर्नलिस्ट (आईएफजे)ले नेपालखबर डटकम र बिजमान्डु डटकमविरुद्ध काठमाडौँ जिल्ला अदालतले समाचार हटाउन गरेको आदेश फिर्ता लिन आग्रह गरेको छ।
आईएफजेले भ्रष्टाचारका मुद्दामा मिडियामा आएका समाचारका बारेमा काठमाडौँ जिल्ला अदालतले गरेको आदेश प्रजातन्त्र मूल्यमान्यता र संविधानको मर्म उल्लेखित प्रेस स्वतन्त्रताविरुद्ध रहेको पनि जनाएको छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदनमा न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले जेठ २७ गते दिएको आदेश निरन्तर हुने कि नहुने भन्ने विषयमा छलफल हुन लागेको हो।
न्यायाधीश शर्माको इजलासले एकपक्षीय सुनुवाइका आधारमा नेपालखबर र बिजमान्डुमा प्रकाशित धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठसम्बन्धी समाचारहरू हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
उक्त आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने विषयमा छलफल गर्न इजलासले नै आजका लागि पेसी तोकिएको थियो। अदालतले १५ दिनभित्र लिखित जवाफ पनि माग गरेको थियो।
नेपालखबरले अदालतको आदेशबमोजिम लिखित जवाफ पेस गरिसकेको छ। अदालतको आदेशमा असहमति जनाउँदै नेपालखबरले जवाफमा सार्वजनिक पदमा बसेका व्यक्तिहरू सधैँ जनताको निगरानीमा रहने भएका कारण उनीहरूका विषयमा समाचार लेख्ने आफ्नो अधिकारको प्रतिरक्षा गरेको छ।
Shares

प्रतिक्रिया