राजनीति


कुलिङ पिरियड हटाएको बारे छानबिन गर्न तत्काल समिति गठन गर्नुपर्छ: गगन थापा

कुलिङ पिरियड हटाएको बारे छानबिन गर्न तत्काल समिति गठन गर्नुपर्छ: गगन थापा

नेपालखबर
असार १७, २०८२ मंगलबार १८:५४, काठमाडौँ

नेपाली कांगेसका महामन्त्री तथा सांसद गगन थापाले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी निर्णयलाई चलाउनेमाथि कारबाहीको माग गरेका छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यसलाई चलाउने काम अक्षम्य भएको बताएका हुन्।  

'निजामती विधेयकमा कुलिङ अफ पिरियड राख्ने आम सहमति हो। राज्यव्यवस्था समितिमा उपसमितिको प्रतिवेदनपछि अन्तिम वक्ता सायद म नै हुँ। समितिमा भएका सहमति लिपिबद्ध गर्ने काम सचिवालयको हो,' उनले भने, 'त्यसकै लागि सचिवालय राखिएको हुन्छ। कसले चलायो छानबिनका लागि सभामुखले तत्काल समिति गठन गर्नुपर्छ।' 

संसदीय सर्वोच्चतालाई चुनौती दिनेगरी कहिँ कतैबाट चलखेल भएको भए पहिचान गरी त्यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ। थापाले सिंगो सदनलाई झुक्याउने काम भएको भन्दै त्यो काम त्रुटिबस भएको भए पनि कारबाहीबाट भने उन्मुक्ति नहुने बताए। 

'त्रुटिबस गल्ती भएको हो भने पनि सिंगो सदनको सहमतिलाई उल्लंघन गर्ने काम त भएकै छ। त्यसकारण कारबाही हुनुपर्छ,' थापाले थपे, 'यसलाई षडयन्त्रपूर्ण रूपमा छिराइएको छ भने त जुनसुकै तहबाट भएको होस् कडा कारबाही गरी भविष्यमा यस्तो नहुने वातावरण बनाउनै पर्छ।'

थापाले समितिका सदस्य र सांसदहरूले पनि विधेयकमा भएका सहमति पालना भएका छन् भन्ने विश्वासमा पास गर्ने अभ्यासमा पुरर्विचार गर्ने पाठ यो घटनाले सिकाएको बताए। 

'हामी सांसदहरूले पनि समितिमा वा अन्यत्र गरिएको सहमति प्रतिवेदनमा छन् भन्ने आधारमा सहमति दिने काम बन्द गरी प्रत्येक लाइन पढेर मात्र समर्थन दिने काम गर्नुपर्छ भन्ने पाठ यो घटनाले सिकाएको छ,' थापाले भने, 'अब सहमति भएकै छ त्यहीअनुसार भयो होला भनेर मान्न र विश्वास गर्न सकिने अवस्था रहेन।'

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमाथि जालझेल भएको भन्दै सत्तारुढ दल र प्रतिपक्षी दल सबैले तत्काल सच्याउन भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad