राजनीति


एनपी साउदको गुनासो: ०८४ को निर्वाचनको तयारीमा पार्टी किन लागेन?

एनपी साउदको गुनासो: ०८४ को निर्वाचनको तयारीमा पार्टी किन लागेन?

नेपालखबर
असार २२, २०८२ आइतबार १३:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन्। 

ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएको चेतावनी दिए।

‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ,' उनले भने, 'यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ।’

उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए। ‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो।’

साउदले संगठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए। ‘मैले केन्द्रीय कार्यसमितिबाट प्रतिनिधित्व गरेको सर्लाहीमा १४ औं महाधिवेशनपछि आजसम्म बैठक नै भएको छैन। अधिवेशनसमेत अधुरो छ,’ उनले भने।

पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै साउदले अनुशासनका नाममा एक पक्षीय कारबाही भएको बताए। ‘अनुशासनमा एकपक्षीय कारबाहीले निराशा मात्र बढाउँछ। अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागु हुनुपर्छ’, उनले भने।

दुईतिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेकोप्रति पनि उनले आलोचना गरे। ‘दुईतिहाइको सरकार बनेपछि सहमतिअनुसार संविधान संशोधनबारे छलफल अघि बढ्नुपर्थ्यो, त्यसमा ढिलाइ भएको छ,’ उनले भने।

साउद पार्टीका शीर्ष नेताहरू देशभर घुमिरहे पनि संगठन बलियो नबनेसम्म कांग्रेस सशक्त नबन्न बताए। उनले पार्टीलाई समयअनुकूल अपडेट गर्दै गुटबन्दी अन्त्य गर्न र संगठन मजबुत बनाउनेतर्फ तुरुन्त ध्यान दिन नेतृत्वलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad