राजनीति


कांग्रेसको प्रस्ताव: सदन स्थगन गरेर रास्वपा र राप्रपालाई पनि सदनमा आउने वातावरण बनाऔँ

कांग्रेसको प्रस्ताव: सदन स्थगन गरेर रास्वपा र राप्रपालाई पनि सदनमा आउने वातावरण बनाऔँ

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:३५, काठमाडौँ

नेपाली कांग्रेसले जेठ १३ गतेदेखि लगातार सदनमा अवरोध जारी राखेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सदनमा निरन्तर सहभागिता जनाउने वातावरण बनाउन सभामुखलाई आग्रह गरेको छ। 

सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले 
सदन स्थगित गरेर संसद्‌मा भाग लिने वातावरण बनाउन आग्रह गरेका हुन्। 

'रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा आएको छैन। केही सातादेखि हामी संवादमा समेत बसेका छैनौँ,' उनले भने, 'अब केही समय संसद् स्थगित गरेर पनि रास्वपा र राप्रपासँग सहमति गरेर संसदमा भाग लिने वातावरण बनाउनुपर्छ। संसद्को ठूलो पार्टीका नाताले नेपाली कांग्रेस आवश्यक सहजीकरणका लागि तयार छ।'

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनसहितको माग राखेर निरन्तर आन्दोलनमै रहेको बताए। 

'हामी निरन्तर आन्दोलनमा छौं। महत्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनुपर्छ। संसद्लाई सधैं यसरी अघि बढाउँदा राम्रो सन्देश गएको छैन' उनले भने।  

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सदन सञ्चालनका लागि सभामुखले पहल थाल्नुपर्ने बताए। 'सरकारलाई सहमतिका लागि अपिल गरिदिनु राप्रपाको अनुरोध छ। बजेट पास अत्यावश्यक थियो, तर नियमित बैठक चौथो र पाँचौ ठूलो दलको अनुपस्थितिमा सञ्चालन गर्नु राम्रो भएन' उनले भने।  

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने भूमि विद्येयकलाई समितिमा लैजान आग्रह गरे।  

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरू सदनमा सहभागी नभएको विषयमा ध्यानाकर्षण भएको बताएका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad