राजनीति


मन्त्री बन्दा भगवती ‘सरप्राइज्ड’, कसरी परिन् प्रधानमन्त्री ओलीको रोजाइमा?

मन्त्री बन्दा भगवती ‘सरप्राइज्ड’, कसरी परिन् प्रधानमन्त्री ओलीको रोजाइमा?

सागर न्यौपाने
असार ३१, २०८२ मंगलबार २०:११, काठमाडौँ

२०८१ साउन १ गतेदेखि राष्ट्रिय सभामा नेकपा एमालेको मुख्य सचेतक बनेकी भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।

घुस डिल प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएको केही घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

२०७६ माघ ९ गते राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी उनको कार्यकाल यसै वर्षको फागुनमा सकिँदैछ। राष्ट्रिय सभा सदस्यका रुपमा उनको कार्यकाल ८ महिना मात्र समय बाँकी छ। 

यही समयमा उनी मन्त्री बनेकी छन्। 

तनहुँमा जन्मे–हुर्केकी न्यौपानेले अनेरास्ववियुबाट राजनीति सुरु गरेको नेपालखबरलाई बताइन्। पार्टीको तत्लो कमिटीबाट उठेर केन्द्रसम्म पुगेको उनी बताउँछिन्।

आफूले विद्यार्थी, महिला र पार्टी कमिटीमा पनि काम गरेको उनको भनाइ छ।

‘२०५० सालमा अनेरास्ववियुको तनहुँ जिल्ला कमिटी सदस्य भएर मैले राजनीतिमा पाइला राखेको हुँ,’ न्यौपानेले नेपालखबरसँग भनिन्, ‘अनेरास्ववियुको केन्द्रीय सदस्य, अनेमसंघको दुई कार्यकाल तनहुँको अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य भएँ। ९ वर्षसम्म एमाले तनहुँको जिल्ला कमिटी सचिव भएर काम गरेँ। अहिले एमालेको केन्द्रीय सदस्य छु।’

‘यो ३२ वर्षको अवधिमा संसदमा पहिलोपटक पुगेको हुँ,’ उनले थपिन्, ‘यहीबेला पार्टी र प्रधानमन्त्रीले मन्त्री बनाउनुभयो। मलाई खुसी लागेको छ।

उनी कसरी प्रधानमन्त्री ओलीको छनोटमा परिन् त?

राष्ट्रिय सभामा एमालेको मुख्य सचेतक भएपछि न्यौपाने प्रधानमन्त्री निवास बालुवाटार पुगिरहन्थिन्। किनकि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग उनको काम परिरहन्थ्यो। 

यही निरन्तरको भेटवार्ताका कारण न्यौपानेले ओलीको विश्वास जितेको र मन्त्री बन्न उनले ज्यादा लबिइङ समेत गर्नुनपरेको एमालेका नेताहरूको भनाइ छ।

‘पार्टीका तर्फबाट राष्ट्रिय सभामा उठाउने विषयबारे छलफल गर्न उहाँ बालुवाटार पुग्नैपर्थ्यो। निरन्तरको भेटवार्ता, प्रतिपक्षी दलप्रति खरो रूपमा उत्रने क्षमताले प्रधानमन्त्री ओलीको विश्वास जित्न सफल हुनुभयो,’ ओलीनिकट एक नेता भन्छन्, ‘त्यसैले फ्याट्ट मन्त्री बनाउनुपर्दा प्रधानमन्त्रीले उहाँलाई छान्नुभयो।’

न्यौपाने पनि प्रधानमन्त्रीले ओलीले आफूलाई ‘सरप्राइज’ नै दिएको बताउँछिन्। 

‘प्रधानमन्त्रीले सरप्राइज नै दिनुभयो। मन्त्री बनाउने भनेर कुनै संकेत दिनुभएको थिएन,’ उनले भनिन्, ‘अलि विश्वास चाहिँ गर्नुहुन्थ्यो। नत्र यो जिम्मेवारी दिने कुरा हुन्थेन।’ 

‘पार्टीप्रतिको समर्पण उहाँलाई थाहा पनि भयो, त्यसमाथि राष्ट्रिय सभामा खेलेको भूमिका पनि भयो। रिपोर्टहरू पनि हेर्नुभयो। त्यो हिसाबले विश्वास गरेरै यो जिम्मेवारी दिनुभयो,’ उनले थपिन्।

मेयरमा हारेर पुगेकी थिइन् राष्ट्रिय सभा 
२०७४ साल वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा तनहुँकै भानु नगरपालिकाको मेयर उठेर पराजित भएको न्यौपानेले बताइन्। 

त्यसबेला एमाले–माओवादी गठबन्धन बनेको थियो। केन्द्रमा भएको कांग्रेस–माओवादी गठबन्धन भत्काएर तनहुँका केही पालिकामा एमाले र माओवादीले गठबन्धन गरे पनि उनीहरूले जित्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad