नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रुपन्देहीको सवालमा नेपाली कांग्रेसका लागि बालकृष्ण खाण महत्वपूर्ण र प्रमुख नेता भएको बताएका छन्।
आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिले पनि बालकृष्णको प्रभाव त्यतिकै रहेको दाबी गरे। ‘बालकृष्ण खाण प्रमुख नेता हो हाम्रो त्यहाँको,’ सिटौलाले भने, ‘अहिले पनि। उहाँको प्रभाव अहिले पनि छ त्यहाँ।’
त्यसैले रुपन्देही-३ को उपचुनावमा आफैँ उम्मेदवार बन्ने या अरुलाई सिफारिस गर्ने भन्नेमा खाणको राय महत्वपूर्ण हुने सिटौलाको भनाइ छ। ‘त्यसैले उहाँको राय नै महत्वपूर्ण हुन्छ–आफू उठ्ने या नठ्ने? अथवा कसलाई दिने भन्नेमा,’ उनले भने।
यद्यपि पार्टीले भने अहिलेसम्म त्यहाँ कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल नगरेको सिटौलाको भनाइ छ। ‘त्यो कोणबाट छलफल भएको छैन,’ उनले भने, ‘रुपन्देहीको निर्वाचनलाई हामीले प्राथमिकतामा राखेका छौँ। तर, उम्मेदवार को बन्ने, के बन्ने भन्ने विषयमा छलफल नै भएको छैन।’
खाण भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। त्यसयता उनी राजनीतिमा खासै सक्रिय छैनन्।
Shares

प्रतिक्रिया