राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आफू नथाकेको बताएकी छन्।
उनले रुपन्देही बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिनाको आरोपमा रुपन्देही कारागारमै रहेका लामिछानेले न्याय नपाएसम्म लडिरहने बताएकी हुन्।
सोमबारमात्रै पनि रुपन्देही अदालतले रविलाई थुनामै राख्न आदेश गरेसँगै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नहारेको पनि बताइन्।
उनले लामिछानेसँगको तस्बिर राख्दै सरकारले प्रतिशोध साँधेको र न्याय नपाएसम्म लडिरहने बताएकी छन्।
'म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु,' उनले भनेकी छन्, 'यो सरकार, उसले साँधेकाे प्रतिशाेध र गरेकाे अन्यायविरुद्ध निरन्तर लड्छु मेराे श्रीमान्ले न्याय नपाएसम्म लडिरहन्छु।'
लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए। सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको छ।
रुपन्देही जिल्ला अदालतमा न्यायाधीश सापकोटाको इजलासमा सोमबार भएको सुनुवाइका क्रममा लामिछानेका कानुन व्यवसायीले उनलाई थुनामुक्त गर्न माग गरेका थिए।
लामिछानेले सहकारीको रकम हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका थिए।
उनले अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी निवेदनसँगै बुझाएका थिए। लामिछानेले आफ्नो भागको बिगो बराबरको रकम दाखिला गरिसकेकाले रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा गत साउन १९ गते निवेदन दिएका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेको थियो।
उनका विरूद्ध कास्की, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा छन्। कास्कीमा सहकारी ठगी र संगठित अपराधका अलावा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दाकै कारण उनको सांसद पनि निलम्बनमा परेको छ।
Shares

प्रतिक्रिया