राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।
आइतबार झापामा सञ्चारकर्मीमाझ उनले आफूले सो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने बताएका हुन्।
उनले भने, ‘हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौँ। र, आवश्यक पर्यो भने दुईवटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ।’
अध्यक्ष लिङदेनले आफूहरूले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे। आफूहरूको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे।
अध्यक्ष लिङदेनले सो प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि दोहोर्याए।
उनले भने, ‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौँ। उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्यो नि त। भोलि दोषी ठहरियो भने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ। राजीनामा पनि दिई हाल्नु हुन्छ भनेर भन्दा पनि सुन्दा पनि नसुनेर जुन ढंगले संसदलाई सभामुखले अगाडि बढाइराख्नुभएको छ। सरकारले पनि जुन ढंगले उपेक्षा गरिराखेको छ। मलाई लाग्छ–त्यो नेपाली जनताले हेरिराखेको छ।’
उनले फरक प्रसंगमा आफूले पार्टीमा नयाँ साथीहरुलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए।
Shares

प्रतिक्रिया