राजनीति


आफूलाई मार्ने धम्की दिने महिलासँग नरम व्यवहार गर्न प्रहरीलाई मन्त्री यादवको निर्देशन

आफूलाई मार्ने धम्की दिने महिलासँग नरम व्यवहार गर्न प्रहरीलाई मन्त्री यादवको निर्देशन

फाइल तस्बिर : खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादव


नेपालखबर
भदौ १९, २०८२ बिहिबार ११:१९, काठमाडौँ

आफूलाई फोन गरेर  मार्ने धम्की दिँदा हिरासतमा पुगेकी महिलाप्रति नरम व्यवहार गर्न खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले पर्सा प्रहरीलाई भनेका छन्। 

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत घटना विवरण सार्वजनिक गर्दै मन्त्री यादवले ती महिलाप्रति आफ्नो कुनै पूर्वाग्रह नभएको पनि बताएका छन्। 

‘कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो। फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ। फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालयमार्फत प्रहरीसमक्ष खबर पुर्‍याएको छु। आशा छ- आजको दिन फोनकर्ता महिलाको लागि फलदायी होला’, मन्त्री यादवले लेखेकी छन्। 

उनले अगाडि भनेका छन्, ‘समस्या प्रश्न गर्नुमा कदापि होइन। हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो। फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नुहोला।’

ती महिला बाराकी किरण साह हुन्। वीरगन्जमा हैजा फैलिएपछि साहले मन्त्री यादवलाई फोन गरेर हैजाले मान्छे मरिरहँदा पनि केही गर्न नसकेको भन्दै ज्यान मार्ने धम्की दिएको अडिओ सामाजिक सन्जालमा सार्वजनिक भएको थियो। यस विषयमा मन्त्री यादवले पर्सा प्रहरीलाई खबर गरेपछि उनलाई गत शनिबार पक्राउ गरिएको थियो। 

मन्त्री यादवले लेखेका छन्, ‘कानुनभन्दा माथि कोही हुन्न। हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ, उहाँको अनुसन्धान प्रक्रिया सकेको खबर छ, आशा छ- फैसला राम्रो आउने छ।’

यस्तो छ, मन्त्री यादवको पूरा भनाइ:

वीरगन्ज मेरो जन्मथलो त हुँदै हो, यसका साथै राजनीतिक संघर्ष तथा स्वीकृतिको भूमि हो। पछिल्ला दिनहरूमा यहाँ पहिला खानेपानीको संकट देखापर्‍यो। यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि म संघीय खानेपानी मन्त्रीका रूपमा स्थानीय वीरगन्ज महानगरपालिकासँग सामन्जस्य स्थापित गरी युद्धस्तरमा सक्रिय भएँ। खानेपानी समस्या मधेस प्रदेशमा सघन देखिएको हुनाले प्रदेश सरकारसँग समेत समन्वय गर्न साथै यसको दीर्घकालीन समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सल्लाह र सहयोग लिएँ।

खानेपानीको संकट न्यूनीकरणको प्रक्रिया अगाडि बढ्दै थियो कि वीरगन्जमा झाडापखाला र हैजाका बिरामीहरू देखिन थाले। म स्वयं जनताबीच पटकपटक गई तिनका समस्या सुन्ने, असन्तुष्टि बुझ्ने र आम नागरिकका अप्ठ्याराहरूलाई व्यवस्थापन गर्न दिनरात लागिपरेँ। यसका लागि सम्माननीय प्रधानमन्त्रीसमक्ष भुइँतहको सूचना साझेदारी, सम्बन्धित संघीय स्वास्थ्यमन्त्री तथा मन्त्रालयसँग समन्वय तथा स्थानीय सरोकारवाला पक्षबीच समन्वयका काम गर्दै रहेँ।

जनताका बीच संघर्ष गर्ने व्यक्ति भएको हुनाले जनताको पीरमर्का बुझ्ने, गुनासाहरूको व्यवस्थापन गर्नु म आफ्नो धर्म ठान्दछु। जनताले सरकारसँग प्रश्न गर्न पाउन् भन्ने मेरो राजनीतिक संघर्षको ध्येय रही आएको छ।

मेरो मोबाइल नम्बरमा आएको फोन कललाई सकेसम्म म उठाउने गर्दछु। सेभ नरहेका नम्बरबाट आएको कलसमेत उठाउने मेरो बानी छ। कुनै प्राविधिक तथा अफिसियल कारणवश फोन उठाउन नसकेको अवस्थामा पछि कलब्याकसमेत गर्ने गरेको छु।

गत साता मेरो नम्बरमा एक अज्ञात महिलाको फोन आयो, जसमा उनी निकै आक्रोशित रूपमा प्रस्तुत भइन्। मलाई लाग्यो उनकै कथनानुसार कोही आफन्त बिरामी भएको भएर पीडा पोखिएको होला। तर उनले गुहार लगाउनुभन्दा ज्यान मार्ने धम्कीसमेत दिएको हुनाले मैले त्यो नम्बरसहितको सूचना पर्सा प्रहरीलाई दिएँ।

यसका साथै वीरगन्जका नगर प्रमुख राजेशमान सिंहजी र पर्सा जनस्वास्थ्य कार्यालयका प्रमुखलाई नोट गराएँ। र, यो पनि आग्रह गरेँ- यदि ती फोनकर्ताको कोही आफन्त गम्भीर बिरामी छ भने त्यसमा सक्दो सहयोग पुर्‍याउने।

पछि अस्पतालमा पता लगाउँदै जाँदा थाहा पाइयो- वीरगन्जको कुनै अस्पतालमा उनको परिवारका कोही सदस्य भर्ती थिएन।

यसैबीच ती महिलाले मलाई दिइएको हत्यावाला अडिओ आफैँ इडिट गराई सार्वजनिक गराइन् र गरिन्। र, फेरि संयोगले असली अडिओ पनि बाहिर आएर आफैँ सत्यतथ्य छर्लङ्ग भयो।

पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन्। मेरो व्यक्तिगत रूपमा उनीप्रति कुनै पूर्वाग्रह छैन।

एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य उक्त फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक हो। ती फोनकर्तालाई उक्साउने वा मेन्टरिङ गर्नेको मनसाय के थियो त्यसको छानबिन प्रहरीले गर्छ नै।

कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो। फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ। फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालयमार्फत प्रहरीसमक्ष खबर पुर्‍याएको छु। आशा छ- आजको दिन फोनकर्ता महिलाको लागी फलदायी होला।

समस्या प्रश्न गर्नुमा कदापि होइन। हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो। फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला।

कानुनभन्दा माथि कोही हुन सक्दैन र हुँदैन। हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ। उहाँको अनुसन्धान प्रक्रिया सकेको खबर छ। आशा छ- फैसला राम्रो आउने छ।

म फेरि भन्छु- लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट छ तर कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन सकिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad