पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्म गरेका काम सकारात्मक नै भएको बताएका छन्।
प्रधानमन्त्री कार्कीले आइतबार मात्र थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम सिफारिस गरेकी छन्।
जसअनुसार आज सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा उद्योगमन्त्री, स्वास्थ्य मन्त्रालयकै अतिरिक्त सचिव संगीता कौशल मिश्र स्वास्थ्यमन्त्री, मदन परियार कृषिमन्त्री, पत्रकार जगदीश खरेल सञ्चारमन्त्री र वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्दै छन्।
यसअघि रामेश्वर खनाल (अर्थ) , कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री बनिसकेका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री कार्कीले गरेका मन्त्री छनोटप्रति पनि सन्तोष व्यक्त गरेका छन्।
‘जेन-जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिलेसम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक नै छन्। परन्तु आन्दोलनको रापताप सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हावी हुँदै जान्छ र युवाहरूको असन्तुष्टि र आक्रोश पुनः विस्फोट हुनसक्छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अतः सरकारले आफ्नो लोयल्टी पुराना शक्ति र यथास्थितितिर होइन विद्रोही जेन-जी र परिवर्तनतिर हो र हुनुपर्छ भन्ने हमेसा हेक्का राख्नु उपयुक्त हुनेछ। त्यस निम्ति अन्य कुराहरूका अतिरिक्त मन्त्रिपरिषद्लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कमसेकम एकतिहाइ सदस्य राख्नु राम्रो हुनेछ।’
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन्। लगत्तै संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको छ।
कार्की नेतृत्वको अन्तरिम सरकारको प्रमुख जिम्मेवारी ६ महिनाभित्र उक्त चुनाव सम्पन्न गराउनु हो।
Shares

प्रतिक्रिया