नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी फागुन २१ गते हुने निर्वाचनप्रति संशय पैदा भएको बताएका छन्।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले पत्रकारसँग कुरा गर्दै राजनीतिक दललाई निषेध गरेर निर्वाचन सम्भव नभएको बताए।
उनले सरकारले अहिलेसम्म दलहरूसँग कुनै परामर्श नगरेको बरु कतिपय पात्रहरूले दलका नेतालाई चुनावमा भाग लिनै नदिने भनेर अभिव्यक्ति दिइरहेको बताए।
‘सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको मात्र होइन, निषेधको बाटोबाट हिड्न खोजेको छ,’ उनले भने, ‘राजनीतिक दललाई लक्षित गरेर भौतिक रूपमै क्षति पुर्याउने धम्की आइरहेका छन्।’
हालै जेनजी अगुवा सुदन गुरुङले अलजजिरासँगको कुराकानीमा राजनीतिक दलहरूलाई चुनावमा भाग लिन नदिने, घरबाट बाहिर निस्कन नदिने अभिव्यक्ति दिएका थिए।
उनको भनाईप्रति इंगित गर्दै ज्ञवालीले प्रश्न गरे, ‘विभिन्न समूहले धम्की दिइरहेका छन्। विभिन्न पात्रहरूले अन्तरवार्ता दिइरहेका छन्। चुनावमा भाग लिनै दिन्नौं, भाग लिए वैधता दिँदैनौं, घरबाटै बाहिर निस्कन दिँदैनौं भनिरहेका छन्। यस्तोमा पाँच महिनाभित्र निर्वाचन सम्भव छ र?’
Shares

प्रतिक्रिया