जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते घरमै कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसयता पहिलोपटक वक्तव्य जारी गरेका छन्।
दसैँको फूलपातीको अवसरमा उनले आज (असोज १३, सोमबार) शुभकामना सन्देश जारी गरेका हुन्।
सन्देशमा उनले मुलुकको सर्वोच्च कानुन संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
‘संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ। सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षाबमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ’, सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले भनेका छन्, ‘नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र बुद्ध शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।’
सन्देशमा उनले भदौ २३ र २४ गते देशमा भएका मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यो देशको इतिहासमै अल्कपनीय र दुःखद घटना भएको उल्लेख गरेका छन्।
‘गत भाद्र २३ र २४ गते देशमा जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा कैयौँ युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएका छन्। नेपाल आमाका ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। प्रदर्शनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, देउवाले भनेका छन्, ‘भाद्र २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरूलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर, डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटबाट खर्बौंको क्षति भएको छ। नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दु:खद घटनाको रूपमा रहेको छ।’

Shares

प्रतिक्रिया