राजनीति


प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

शीतल निवासमा शनिबार राष्ट्रपतिले आयोजना गरेको सरकारसहितको सुरक्षा बैठक। तस्बिर : शीतल निवास


नेपालखबर
कात्तिक १, २०८२ शनिबार १४:२४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले त्यस्तो निर्देशन दिएका हुन्। 

उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे। 

अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताइन्। 

उनले पूर्ण तयारीका साथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाइन्। 

सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाए।

उनीरूले यो भन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको बताए।

छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरीका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad