राजनीति


ओलीको राजीनामा मागेकी विद्या भट्टराईमाथि ‘गृहिणी’ भन्दै यो प्रहार

ओलीको राजीनामा मागेकी विद्या भट्टराईमाथि ‘गृहिणी’ भन्दै यो प्रहार

नेपालखबर
कात्तिक १, २०८२ शनिबार २३:२८, काठमाडौँ

एमाले केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराईले शनिबार अपरान्ह आफ्नो फेसबुक पोष्टमा लेखिन्, ‘गृहिणी होइन, गृह व्यवस्थापन हो। महिलाहरुले गृह व्यवस्थापन गरेर नै परिवार सुखी भएको उदाहरण हामीसँग छ। यो महिलाहरुको शिप र कला हो। यो शब्दलाई होच्याउनु भनेको सम्पूर्ण महिलाहरुमाथि गरिने अवमूल्यन हो।’ 

अर्की एमाले नेतृ उषाकिरण तिम्सेनाले भट्टराईको यो पोष्ट टिप्पणीसहित आफ्नो फेसबुकमा ‘शेयर’ गरेकी छन्। 

‘इमान र नैतिकताको कसीमा तपाईंले आफूलाई समाजका सामु प्रमाणित गर्नुभएको छ दिदी, दुईजना ‘जेन–जी’ हरुको आमा हो तपाईं।’

केन्द्रीय सदस्य तिम्सेनाले आफ्नी अग्रज नेतृ भट्टराईलाई ढाडस दिँदै भनेकी छन्, ‘दाई (रवीन्द्र अधिकारी) बित्नु भएपछि तपाईंले बेहोर्नुभएको सुखदुखको मापन अरुले गर्ने कुरा होइन। दिदी, मोर पावर टु यु।’ 

जरुरी कुराबाहेक हत्पत्ति फेसबुक लगायत सामाजिक सन्जालमा खासै लेख्दिनन् पूर्वमन्त्री भट्टराई। शनिबार अपरान्हको यो पोष्टपनि उनले ९ दिनपछि लेखेकी हुन्। यसअघिको उनको पोष्ट २४ असोजको थियो। त्यो पोष्ट ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले फोनमार्फत् आफू शिक्षामन्त्री हुँदा सुरु गरेका योजना, काम र निर्देशन मागेको र सो बमोजिम तिनको कार्यान्वयन हुने विश्वासका साथ आफूले पठाइदिएको’ सम्बन्धमा थियो। 

यसरी अत्यावश्यक बाहेकका विषय फेसबुकमा नलेख्ने पूर्वमन्त्री भट्टराईले शनिबार अकस्मात ‘गृहिणी’ र ‘गृह व्यवस्थापन’ को भेद उल्लेखसहित त्यसको महत्वमाथि प्रकाश पार्दै किन उपरोक्त कुरा लेखिन्।

स्रोतहरूका अनुसार, हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा भट्टराईले राखेको धारणाको बदलास्वरुप ‘फेक फेसबुक एकाउन्ट’ मार्फत् अध्यक्ष केपी शर्मा ओली पक्षले क्षुद्र–अराजनीतिक टिप्पणी गरेपछि भट्टराईले जवाफ दिन उपरोक्त पोष्ट गरेकी हुन्।  

‘गृहिणी’ भन्दै हेलाहोचो 
तपाईंहरुले ‘सरु खनाल’ नाम ‘सर्च’ गर्नुभयो भने नेपालको राष्ट्रिय झण्डाजस्तै रातो–नीलो रंगको सारी, रातोे ब्लाउज र चस्मा लगाएकी प्रोफाइल पिक्चर भएको युवतिको फेसबुक एकाउन्ट भेट्न सक्नुहुन्छ। 

तर, सरु खनालको प्रोफाइल र कभर पिक्चर दुबै कृत्तिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाइएका हुन्। 

खासमा यो फेसबुक एकाउन्ट एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतको प्रचार, अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा र ओलीका विरोधीमाथि अरिंगालले झैँ हमलाका लागि निर्माण गरिएको जस्तो देखिन्छ। यो अकाउन्टमा पोष्ट भएका सबै सामाग्री हेर्दा यो कुरा प्रष्ट हुन्छ। 

२४ असोजको एउटा पोष्टमा लेखिएको छ, ‘मंसिरको अन्तिमसाता एमालेको अध्यक्ष ओली बा नभए महेश बस्नेत हुन्छन्, अरु पानी मरुवाहरु दुलाभित्रै बसिराख।’ 

कसैले गरेका ओली र बस्नेतको ‘प्रसंशा’ खोजी–खोजी यसमा पोष्ट गरिएका छन्। ओलीको विरोध गर्नेहरुको मानमर्दन हुनेगरी लेखिएका पोष्टपनि यसमा बग्रेल्ती भेटिन्छन्। 

यही फेसबुक एकाउन्टबाट शनिबार विहानै नेतृ भट्टराईमाथि क्षुद्र टिप्पणीसहितको पोष्ट गरिएको थियो। ‘एउटी गृहिणी विद्या भट्टराईलाई श्रीमानको मृत्युपछि केपी ओलीले संसद र मन्त्री बनाए’ त्यसमा लेखिएको थियो, ‘अहिले संकटमा उनलै अध्यक्ष छोड् भनिन्, कठै।’ 

१५ फागुन २०७५ मा ताप्लेजुंगको पाथिभरामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दुखद निधन भएको थियो। रवीन्द्र विद्याका पति थिए। 

आफ्ना पतिको निधन हुनुअघिसम्म उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषय प्राध्यापन गर्थिन्। विद्यार्थीकालमा उनी एमाले सम्बद्ध अनेरास्ववियूको केन्द्रीय सचिवसम्म बनेकी थिइन्। रवीन्द्रसँग वैवाहिक बन्धनमा बाँधिएपछि विद्या सक्रिय राजनीति छाडेर प्राज्ञिक जीवनमा प्रवेश गरिन्। 

रवीन्द्रको पाथिभरामा भएको हवाई दुर्घटनामा निधन भएपछि उनी प्रतिनिधिसभामा निर्वाचित भएको कास्की–२ खालि भयो। 

खलि भएपछि सो निर्वाचनक्षेत्रमा एमालेले विद्यालाई उम्मेदवार बनाउँदा विजय सहज हुने ठान्यो। अनिच्छाका बाबजुद उनी उम्मेवार बनिन्। त्यो उपनिर्वाचन मात्र होइन, २०७९ को निर्वाचनमा पनि उनले सो क्षेत्रबाट अत्याधिक मतका साथ विजय हासिल गरिन्। 

स्व. रवीन्द्रको लोकप्रियता, विद्याको आफ्नै राजनीतिक–प्राज्ञिक पृष्ठभूमि र एमालेको मजवुत संगठन विद्याका विजयका कारक थिए। 

पुन राजनीतिमा आउनुपूर्व त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक भएकाले उनी शिक्षाक्षेत्रकी जानकार थिइन्। त्यसैले, कांग्रेस–एमाले गठबन्धनपछि प्रधानमन्त्री बनेका ओलीले विद्यालाई शिक्षामन्त्रीको जिम्मेवारी प्रदान गरे।  

तर, गत चैत्र–वैशाखमा भएको शिक्षक आन्दोलनका जायज माग प्रधानमन्त्री ओलीले सुनुवाई गर्न नचाहेपछि उनी आफै राजीनामा दिएर सरकारबाट बाहिरिइन्। 

निशुल्क शिक्षाको संवैधानिक प्रावधान लागू गराउन उनको पहलकदमी र अडान र शिक्षकका जायज माग पुरा हुनुपर्छ भन्ने अडानले राजनीतिक–प्राज्ञिक छवि अझ उचो बनाएको थियो, जो ओलीलाई मन परेको थिएन। 

तर, पछिल्लो केन्द्रीय कमिटीको बैठकमा समेत भट्टराई पक्षमा नखुलेपछि बैठक समापनलगत्तै उनीमाथि समेत ओली पक्षबाट क्षुद्र आक्रमण भयो। 

बैठकमा विद्याले के भनेकी थिइन्?
२३–२४ भदौको ‘जेन–जी’ आन्दोलनबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले २९–३१  असोजमा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरेका थिए। नेताहरुको बोल्ने पालो अंग्रेजी अल्फावेटको पछिल्लो वर्णानुक्रमअनुसार निर्धारण गरिएकाले भट्टराईको पालो पहिलो दिन, २९ असोजमै परेको थियो।

ओलीले ‘जेन–जी’ आन्दोलन र सत्ताबाट आफ्नो वहिर्गमनलाई ‘षडयन्त्र’ को उपज भन्दै आएका छन्। केन्द्रीय कमिटीमा पेश गरेको प्रतिवेदनमा पनि यही कुरा उल्लेख गरेका छन्। 

तर, षडयन्त्रकारी को हो, किटान गर्न सकेका छैनन्। 

‘प्रधानमन्त्री तपाईं आफै हुनुहुन्थ्यो, षडयन्त्र भएको हो भने त्यो कुरा पहिल्यै किन थाहा पाउनु भएन?’ केन्द्रीय कमिटी बैठकमा भट्टराईले ओलीसँग प्रश्न गरेकी थिइन्, ‘षडयन्त्र भयो भन्ने अमूर्त कुरा गरेर हुँदैन। तपाईंकै असफलताका कारण त्यो घटना भएको हो। त्यसैले, पार्टीको नेतृत्व छाड्नुस्।’ 

बोल्ने क्रममा भट्टराईले नेतृत्वका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाबाट सिक्नपनि ओलीलाई सुझाव दिएकी थिइन्। 

एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघिल्लो दिन, २८ भदौदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको थियो। बैठकमा लिखित मन्तव्य राखेका सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए। 

केन्द्रीय सदस्य तिम्सेनाका अनुसार पार्टी बैठकमा भट्टर्राले सत्ता–साझेदार दल नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवा दम्पत्ति नै २४ भदौको आक्रमणमा परेपनि देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेर नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गरेको सुनाएकी थिइन्। र, देउवाबाट सिक्दै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएकी थिइन्।

ओलीको आलोचना गर्दै नेतृत्व त्याग्न सुझाव दिएकी भट्टराईलाई बैठक सकिएको भोलिपल्टै अध्यक्ष ओलीको समर्थन र उनका विरोधीहरुमाथि प्रहार गर्न खोलिएको फेसबुक एकाउन्टमार्फत् प्रहार सुरु गरियो। एमालेको राजनीतिमा उनको योगदान र उनको प्राज्ञिक व्यक्तित्व नजरअन्दाज गर्दै सिधै ‘गृहिणीबाट सांसद र मन्त्री बनाएको’ भाष्य निर्माण गर्न खोजियो। 

‘फेक एकाउन्ट’ मार्फत् आफूलाई ‘गृहिणी’ मा सीमित गर्न खोजेपनि भट्टराईले यो हर्कतको जवाफ प्राज्ञिक तवरले नै दिएकी छिन्। गृहिणी शब्दलाई होच्याएर सम्पूर्ण महिलाहरुको अवमूल्यन गरिएको बताउँदै उनले महिलाहरुको गृह व्यवस्थापनको सिप र कलाका कारण परिवारहरु सुखी हुने गरेको स्मरण गराएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad