राजनीति


माओवादीसँग एकता गर्ने विषयमा एकीकृत समाजवादीका नेताहरू विभाजित

माओवादीसँग एकता गर्ने विषयमा एकीकृत समाजवादीका नेताहरू विभाजित

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १७:१०, काठमाडौँ

नेकपा (एकीकृकत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताबारे समाजवादीभित्र मतभिन्नता देखिएको छ। 

पार्टीका केही नेताहरूले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् भने केही नेताहरूले सिद्धान्त र कार्यनीति मिल्ने पार्टीसँग पार्टी एकता गर्नु सकारात्मक पक्ष भएको धारणा राखेका छन्।

एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य निलमणि बरालले अहिलेको राजनीतिक परिस्थितिमा एउटा अमूख पार्टीसँग हतारमा एकताको प्रयास गर्नु उपयुक्त नहुने बताए। उनले कुनैपनि पार्टीसँग एकता गर्ने समय आइनसकेको बताए।

नेता बरालले अहिलेको अवस्थामा पार्टी एकताभन्दा पार्टीको पुर्नगठनमा जोड दिनुपर्ने बताए। उनले मुलुकका सबै समाजवादी, वामपन्थी शक्तिहरूसँग छलफल गरेर नेतृत्व र पुस्तान्तरणसहितको पार्टी अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए। 

उनले भने, ‘अहिलेको परिस्थतिमा हतार गरेर कुनै एउटा अमुख पार्टीसँग मात्र नभएर नेपालमा रहेका थुप्रै कम्युनिष्ट पार्टीहरुसँग संयुक्त एकता, छलफल, बहसका लािग समय पूर्णरुपमा निर्माण भइसकेको छैन। जसरी अहिले नेकपा एकीकृत समाजवादीका केही मान्छेहरू अमुख पार्टीसँग एकताको कुरा गरिरहेका छन्। यसको लागि समय भएको छैन। अहिले यही पार्टीलाई पुनर्गठन गरेर सिंगो नेपालमा छरिएर रहेका समाजवादी वामपन्थी शक्तिहरूसँग छलफल गरेर नेतृत्व र पुस्तान्तरणसहितको पार्टी बनाएर जानु अहिलेको निम्ति उपयुक्त हुन्छ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले एकीकृत समाजवादी र माओवादीबीचको पार्टी एकता सान्दर्भिक भएको धारणा व्यक्त गरे। उनले मुलुकका ठूला दलहरूमा भ्रष्टाचार मौलाएका कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै मुलुकमा सुशासन कायम गर्दै अगाडि बढाउन कम्युनिष्ट पार्टीहरूबीच एकता अपरिहार्य रहेको बताए। 

उनले भने, ‘अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकताको समय सान्दर्भिक छ। किनभने अहिले पार्टीमाथि चौतर्फी आक्रमण भइराखेको बेला र देशका ठूला दलहरूले मुलुकमा भ्रष्टाचार मौलाउने काम गरेका कारण नै अहिले जेनजी विद्रोह भएको हो। उनीहरूले असन्तुष्टि फैल्याएकै कारण विद्रोह भएको हो। यो पार्टीले हिजो नेकपा (एमाले) भित्र जुन बेथिती थियो। त्यसको उठान गर्दै छुट्टै पार्टी गठन गरेको भएपनि यस पार्टीले समेत संसदमा बलियो उपस्थिति जनाउन सकेन। त्यसकारण अहिले माओवादी केन्द्रले आफ्नो नाम नै परिवर्तन गरेर पार्टी एकता हुन गइरहेको कुरा समयसापेक्षित छ भन्ने मेरो बुझाई छ।’

अर्का केन्द्रीय सदस्य केदारकुमार कँडेलले माओवादी केन्द्रसँग मात्र नभएर सिद्धान्त, नीति र कार्यनीति मिल्ने सबै कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता गर्न सकिने बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण नेपालको कम्युष्टि आन्दोलन समाप्त हुने चरणमा पुगेको पनि आरोप लगाए। 

उनले भने, ‘माओवादीसँग मात्र नभएर छरिएर रहेका सम्पूर्ण वामपन्थीहरुसित सिद्धान्त, विचार, कार्यनीति र रणनीति मिल्नेसँग हामी पार्टी एकता गर्न सक्छौं। केपी ओली यो देशको कम्युनिष्ट आन्दोलनलाई विध्वंश पार्ने एउटा पात्र हुन्। उनले दुई दुई पटक संसद विघटन गरे। उनले आफ्ना कामजोरीहरुलाई कहिले स्वीकार नगर्ने र बाहिर गएकालाई घर फर्क भन्नु उनको अत्यन्त कुटिल चाल हो। त्यसकारण नेकपा एकीकृत समाजवादीका कुनैपनि नेताहरू त्यहाँ फर्किने पक्षमा छैनन्।’

उनले नेकपा एकीकृत समाजवादीका कुनैपनि नेता कार्यकर्ता एमालेमा फर्कने पक्षमा नरहेको पनि स्पष्ट पारे।

पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेले आफू सधैं नेपालका कम्युनिष्ट पार्टीहरू फुट्नु दुभाग्यपूर्ण भएको भन्दै बोल्दै आएको बताए। यद्यपि अहिले भइरहेको एकता एमाले र माओवादीबीच भएको तत्कालीन एकता जस्तो हुने उनको भनाइ छ। उनले माओवादीको महाधिवेशन भइनसकेको अवस्थामा सत्ता स्वार्थका लागि गरिने एकतामा परिणत हुने भन्दै उनले पार्टी एकता भन्दा संगठन विस्तारमा पार्टीको ध्यान जान जरुरी रहेको बताए। 

पार्टीका स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारीले केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेका पार्टीहरू वास्तवमै कम्युनिष्ट पार्टी नभएको जिकिर गरे। उनले माओवादी केन्द्र दक्षिणपन्थी पार्टी भएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीले माओवादीसँग एकता गरेर उनीहरूलाई सच्याउन नसक्ने जिकिर गरे। माओवादीको मातहतमा काम गर्न एकीकृत समाजवादीको अस्तित्व नै विलिन भएर जाने भन्दै उनले माओवादी केन्द्रसँगको एकता कुनैपनि हालतमा सम्भव नरहेको बताए। 

पार्टीका नेता राजेन्द्र राईले मुलुकमा रहेका सबै वामपन्थी पार्टीहरूसँग एकताको प्रयास भइरहेको बताए। यद्यपी पार्टीभित्र माओवादीसँग एकता गर्ने र नगर्ने विषयमा मतभेद रहेको उनको भनाइ छ। वामएकताको बाटोमा अगाडि बढ्नको लागि माओवादीसँग एकता कोसेढुंगा सावित हुने उनको जिकिर छ। 

त्यस्तै अर्का नेता मेटमणि चौधरीले वृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने र कम्युनिष्ट पार्टीकै नेतृत्वमा देशलाई समृद्धितर्फ लैजानुपर्ने बताए। उनले माओवादीसँगको एकता वामपन्थीहरूको केन्द्रबिन्दु हुने बताए। सम्मानित नेता झलनाथ खनालको काम नै निहुँ खोज्ने भएको जिकिर गरे। झलनाथ खनालको कुराबाट पार्टी एकता नहुने भन्ने नरहेको बताए। 

अर्का नेता विरोध खतिवडाले एकता गरेर एकै ठाउँमा बसिसकेका वामपन्थीहरु पुनः एक हुन नहुने भन्ने नरहेको बताए। उनले अब एकता प्रक्रियामा जान जरुरी रहेको बताउँदै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए। 

उनले एकता गर्दा भाँड्ने तत्वहरू आउने भन्दै त्यसबाट जोगिनुपर्ने बताए। उनले अहिले माओवादीसँगको एकता अपरिहार्य रहेको जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad