नेकपा (एमाले)का नेता महेश बस्नेतले सरकारले दिनप्रतिदिन संकट थप्न थालेको बताएका छन्। प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार अन्योलता र अराजकता सिर्जना गर्न बनेको आरोप लगाए।
'यो सरकारले निर्वाचन गराउँदैन भन्दा हामीलाई मान्छेले पत्याएका थिएनन्। विदेशमा रहेका युवाहरूलाई भोट हाल्ने व्यवस्था गर्ने भनेर उचाले। कुन विधिले विदेशमा रहेका युवाहरूले भोट हाल्न पाउँछन्?,' उनले भने, 'विदेशमा मतदान केन्द्र कहाँ हुन्छ ? भोटिङ राइट्स कस्तो हुन्छ ? धेरै गम्भीर विषय छ।'
जेनजीको नाममा छद्मभेषी परिचालन भएको उनको आरोप छ। 'हिजो दललाई गाली गरेर आएका वैकल्पिक शक्ति किन दल दर्ता गर्न होड गरेका छन् ? उनीहरूले दल खोल्न नपाएकोमा आक्रोश व्यक्त गरेका हुन्,' उनले भने, 'नेपाली जनताको बीचमा जुन गोरु आए पनि कानै चिरिएको भन्न परेको छ, यसलाई हामीले सच्याउनुपर्छ।'
बस्नेतले स्टन्टबाजी गरेर देश चलाउने, लोकतन्त्रको चीरहरण गर्ने, निरंकुश सरकारलाई सच्याउनका लागि संसद् पुनर्स्थनापनाको माग गरेको बताए। जेनजी युवाहरूसँगको छलफलमा जान लागेका बेला जेनजीका नाममा कमजोर ठानेका शक्तिहरूले आजको घटना घटाएको उनको भनाइ छ।
आज बाराको सिमरामा आयोजना गरेको पार्टीको कार्यक्रममा जाँदै गर्दा सिमरामा जेनजीहरूले उनीहरूविरुद्ध प्रदर्शन गरेपछि बस्नेतसहित एमाले नेताहरू त्यसतर्फ जान सकेका थिएनन्। सिमरा विमानस्थलको गेटमै प्रदर्शन र झडप भएपछि स्थानीय प्रशासनले कर्फ्युसमेत लगाएको छ।
Shares

प्रतिक्रिया