राजनीति


सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय

सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:५८, काठमाडौँ

राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले नेपालखबरमा जानकारी दिए।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो।  

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्‌मा पत्राचार गरिसकेको छ। 

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ। प्रतिवेदनलाई राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारे पनि छलफल भएको परिषद् सचिवालयले जनाएको छ।

भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन। निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन्। 

सुरक्षाको वातावरण बनाउन भन्दै सरकारले यसपटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो। यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो। 

तर, यसपटक सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो।

राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष, रक्षा मन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षामन्त्रालयका सचिव सदस्य सचिव रहन्छन्।   

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad