अनेरास्ववियुले मेची–महाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ। झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दीपक धामीले अभियानको शुभारम्भ गरेका हुन्।
अनेरास्ववियुको झण्डा विद्यार्थीहरूलाई हस्तान्तरण गर्दै मंगलबार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ। अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा अनेरास्ववियु कोसी प्रदेशले पुरस्कार वितरण गरेको छ। ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो।
अनेरास्ववियु कोसी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदीक्षा तामाङ र तेस्रो हुने मोरङ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा अध्ययनरत सुमन ढुङ्गानालाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो। उनीहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको कोशीका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए।
यस्तै, सान्तवना पुरस्कार कनकाईस्थित हरिकुल नमूना माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत प्रिन्शा तिम्सिना, धुलावारी माविको कक्षा ८ मा अध्ययनरत कृतिका शिवाकोटी र पब्लिक हाईस्कूल धरान १२ चतारालाइन कक्षा १० मा अध्ययनरत तमन्ना वान्तवा राईलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीले पुरस्कार वितरण गरे।
प्रतियोगितामा प्राडा गंगा अधिकारी, गोपाल काफ्ले र डा कुमार सुवेदीले निर्णायकको रुपमा भूमिका निभाएका थिए। उत्कृष्ट विद्यार्थीहरूको नामावली निर्णायक मण्डलका सदस्य काफ्लेले घोषणा गरेका थिए।
कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष धामीले अनेरास्ववियुका विद्यार्थीहरुको काँधमा देश बचाउने जिम्मेवारी आएको बताएका छन्। उनले देशभित्र एकता भाँड्नेहरू विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताए। युवाहरुलाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको उनले आरोप लगाए।
युवा विद्यार्थीहरुलाई अराजकताविरुद्ध सचेत रहन आग्रह गर्दै उनले अनेरास्ववियुले देशमा आगो लगाउनेहरुका पक्षमा ताली बजाउन नसक्ने बताए।
कार्यक्रमका नेकपा एमाले कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गर्विलो रहेको बताए।
भदौ २३ गते दिउँसोसम्म आन्दोलन भएपनि त्यसपछि प्रतिगमन भएको उनले बताए । अध्यक्ष खतिवडाले भावनामा बहकिएर युवा विद्यार्थीहरु कहिल्यै पनि दुरुपयोग हुन नहुने बताए।
अब देशलाई निकास दिन प्रतिनिधिसभाको पुर्नस्थापना गर्नुपर्ने बताउँदै खतिवडाले गौरीबहादुर कार्की आयोग खारेज गर्नुपर्ने, टीओबी लेखेर आन्दोलन गर्ने र आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्।
यस्तै, अनेरास्ववियुको महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरुको कक्षा–कक्षामा पुग्ने बताइन्।

प्रतिक्रिया