राजनीति


मधेसका मुख्यमन्त्री यादवले लिए शपथ, मंसिर २४ गते नै विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले लिए शपथ, मंसिर २४ गते नै विश्वासको मत लिने

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १२:३९, काठमाडौँ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ गराएका हुन् ।

शपथ ग्रहणपछि यादवले यही २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले तीन दिनपछि नै विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।

यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन्। 

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमालेबाहेकका सात दलका ७७ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदको समर्थन छ। 

ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते अनपेक्षित रुपमा मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवलाई सर्वोच्चले प्रदेशसभामा बहुमत सिद्ध गर्न भनेपछि उनी पदमुक्त भएका थिए। बर्दिबासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएपछि यादव आलोचित बनेका थिए। 

एमालेबाट प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका छन्। २४ दिनमै एमालेले मधेसमा मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख गुमाएको छ। 

एमालेलाई अनुकूल हुनेगरि प्रदेशसभा सञ्चालन गरेको आरोप लागेका सभामुख रामचन्द्र मण्डल महाअभियोगबाट पदमुक्त भएका हुन्। 

पदअनुकूल आचरण नगरेको आरोपमा प्रदेश प्रमुख भण्डारीलाई सरकारले बर्खास्त गरेको हो। मण्डलको पदमुक्तिपछि अहिले मधेसमा सभामुख पद पनि खाली छ। उपसभामुख बबिता राउत ईशरले प्रदेशसभा बैठक सञ्चालन गर्दै आएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad