नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले आगामी मङ्सिर २७ गते हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा व्यापक उपस्थिति जनाउन आग्रह गरेका छन्।
फेसबुकमा लेख्दै ज्ञवालीले उद्घाटन समारोह पार्टीका लागि मात्र नभई ‘लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि’ बन्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार राजनीतिक दलहरू कमजोर वा निष्क्रिय हुँदा त्यसको फाइदा ‘अराजक र प्रतिगामी शक्तिहरूले उठाउन खोज्ने’ इतिहासले प्रमाणित गरिसकेको छ।
ज्ञवालीले २०६२ मङ्सिर ४ गते बुटवलमा एमालेलाई गरिएको ऐतिहासिक जनप्रदर्शन स्मरण गर्दै त्यो आन्दोलनले माघ १९ को ‘कू’ पश्चात उत्पन्न सन्नाटालाई चिर्दै जनआन्दोलनको जग बसाएको उल्लेख गरे। ‘त्यसैगरी मङ्सिर २७ को जनउपस्थितिले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षामा निर्णायक मोड तयार गर्नेछ,’ उनले लेखेका छन्।
कार्यकर्ता तथा नागरिकलाई सल्लाघारी, भक्तपुरमा भेला हुन अपिल गर्दै लेखेका छन्, ‘हाम्रो एक दिनको उपस्थितिले ठूलो अर्थ राख्छ भने किन अनुपस्थित रहने? आउनुहोस्, देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई ‘नो’ भनौँ।’
Shares

प्रतिक्रिया