जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन्।
जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ पगेका ढुंगानाले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीको कामकाजप्रति असन्तुष्टि जनाएका हुन्।
निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको उनको भनाइ थियो। ‘आगामी कार्यक्रम भनेको चाहीँ हामीले देश विकास होस्, आन्दोलन पछिको सरकारले नगरे अब आउने वाला निर्वाचित सरकारले गर्छ, ती पुराना शक्तिहरु अथवा पात्रहरुले गर्छन् भन्ने त आश नै गर्न सकिँदैन। किनभने हामीले त बारम्बार विश्वास गरिरहेको हो,’ उनले भने।
पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावना रहेको जनाउँदै चिन्ता व्यक्त गरे। अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो।
अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेनजी युवाको माग सम्बोधन नभएको ढुङ्गानाले गुनासो गरे। ‘आन्दोलनको सरकारले पनि यदि विकास गर्न सक्दैन भने केहीले गर्न सक्दैन। त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यु, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस्,’ उनले भने, ‘बाँकी काम हामी सबै मिलेर गोलमेच भनौं न एउटा चाहीँ अन्तरक्रिया गरेर त्यसपछि गरौँला तपाई सक्नुहुदैन भने छाडिदिनुहोस्।’
जेनजी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए। उनले शनिवार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भएपनि आफूहरुको माग सम्बोधन नगरेको गुनासो गरे।
भदौ २३ गतेको आन्दोलनमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवालाई मात्र प्रहरीले पक्राउ गरेको उनको आरोप लगाए।
Shares

प्रतिक्रिया