नेपाली काँग्रेस पार्टीको १५ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा महामन्त्री गगनकुमार थापाले बुधबार ७७ वटै जिल्ला कार्यसमितिलाई एउटा मह्वपूर्ण परिपत्र सर्कुलर गरेका छन्।
परिपत्रअनुसार काँग्रेसले आफ्ना क्रियाशील सदस्यबाट लिने शुल्कको वितरण प्रणालीमा नयाँ ढाँचा लागू गरिएको छ। अब क्रियाशील सदस्यताका लागि लिइने शुल्क वडादेखि केन्द्रसम्मले पाउँनेछन्।
नयाँ व्यवस्थाअनुसार वडादेखि प्रदेशसम्मका ६ वटा कमिटीले जनही १० रुपैयाँ प्राप्त गर्नेछन्। परिपत्र अनुसार केन्द्रीय कार्यसमितिले १४० रूपैयाँ पाउनेछ।
कसैको पनि नवीकरण नरोक्ने परिपत्रको मुख्य सन्देश रहेको महामन्त्री गगन थापाको भनाइ छ। क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक समेत रहेका उनले स्पष्ट निर्देशन दिएका छन्, 'सदस्यता वितरण व्यापक र सहज होस्।'
पुस मसान्तमा महाधिवेशन गर्ने लक्ष्य लिएको कांग्रेसमा हाल सदस्यता नवीकरण र वितरणको काम भइरहेको छ। यो क्रममा फरक-फरक किसिमका गुनासा पनि अएका छन्। कतै सदस्यता रोकिएको गुनासो छ भने कतै ढिलाइको आरोप छ। गुनासा बढेपछि महामन्त्रीले केन्द्रबाट नयाँ सर्कुलर गरेका हुन्।
परिपत्रमा उनले चार किसिमका व्यक्तिबाहेक सबैको नवीकरण अनिवार्य गर्न निर्देशन दिएका छन्। ती चार श्रेणी हुन्- मृत्यु भएका, पार्टी छाडेका, केन्द्रीय अनुशासन समितिले निष्काशन गरेका र आफैंले लिखित वा मौखिक रूपमा 'नवीकरण नगरिदिनू; भनेकाहरू हुन्।
यदि कुनै योग्य व्यक्तिको नवीकरण रोकियो भने केन्द्रीय कार्यालयले नै सिधै सदस्यता दिने व्यवस्था पनि गरिएको परिपत्रमा उल्लेख छ। निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाइसकेपछि छुटेका व्यक्तिको छुट्टै नामावली पुस ३ भित्र अनिवार्य केन्द्रमा पठाउन पनि भनिएको छ।
Shares

प्रतिक्रिया