नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जेनजी आन्दोलनपछि एमाले फेरि जनतामाझ उठिसकेको दाबी गरेका छन्। उनले अब पार्टी देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीसमेत गरे।
पार्टीको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै राईले एमाले कठिन परिस्थिति पार गर्दै संगठन मजबुत बनाउन सफल भएको बताए।
‘एमाले खरानीबाट उठिसक्यो। अब हामी निर्णायक राष्ट्रिय शक्ति बन्नेछौँ,’ राईले भने।
उनका अनुसार एक वर्षअघि गरिएको अर्ली महाधिवेशन देशमा बढ्दै गएको अस्थिरता र चुनौतीलाई सामना गर्नकै लागि गरिएको थियो। ‘हामीले मिसन ०८४ त्यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उनले जोड दिए।
जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा पुगेको र राज्य संयन्त्रमा अराजकता फैलिएको पनि राईको भनाइ छ। ‘जेनजीका नाममा अराजक समूहले लोकतान्त्रमाथि प्रहार गर्यो। आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ उनले भने।
उक्त आन्दोलनलाई आधार बनाएर भदौ २४ गते ‘विध्वंश मच्चाइयो’ भन्दै राईले त्यसपछि गैरसंवैधानिक तरिकाले सरकार बनाउने र संसद् विघटनको खेल सुरु भएको आरोप लगाए।
जेनजी आन्दोलनका घटनामा एमालेलाई दोषारोपण गर्ने र त्यसकै बहानामा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास भइरहेको उनले दाबी गरे। ‘हल्लाका भरमा नेता हटाइँदैन। वैधानिक फोरम छ भने त्यही बाटो अपनाउनुपर्छ,’ उनले दोहोर्याए।
राईले कांग्रेससहितका ठूला दल कमजोर अवस्थामा रहेको र कतिपय दल त विघटनको अवस्थामा पुगेको बताए। उनले एमाले पनि एक समय स्तब्ध बनेको जिकिर गर्दै भने, ‘६४ जिल्ला कार्यालय जलाइयो। तर एमाले फेरि जनतामाझ उठिसकेको छ।’
वडादेखि सहरसम्म एमालेको सक्रियता बढेको दाबी गर्दै उनले अहिलेको राष्ट्रिय संकटको समाधान आगामी महाधिवेशनले स्पष्ट गर्ने बताए। ‘जेनजी आन्दोलनपछि देश अँध्यारो सुरूङमा छ। अनिश्चितता बढेको छ। त्यसैले एमाले अब देशको नेतृत्व लिन तयार छ,’ राईले उल्लेख गरे।
अन्त्यमा उनले भने, ‘हामीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प गरेका छौँ। मिसन ०८४ त्यही लक्ष हो। महाधिवेशनपछि हामी अझ बलियो रूपमा उदाउँछौँ।’
Shares

प्रतिक्रिया