राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्व कति छ भन्ने कुराको अनुभुति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पारे।
उनले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसदको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
अध्यक्ष दाहालले भने, ‘लोकतन्त्रको सुन्दर र उन्नत पक्ष भनेको निर्वाचन हो। त्यसमा जनविश्वास र जनचासो अडिएको हुन्छ। अहिले अन्तरिम सरकारको मुख्य काम भनेको आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु हो। यो निर्वाचन प्रतिनिधि सभा विघटन भएपछि कति आवश्यक र महत्वपूर्ण छ भन्नेकुरा हामी सबैले अनुभुत गरेकै छौँ। यो चुनाव समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँदलीरहित गराउन सरकारको जति दायित्व छ। सरकारलाई सहयोग गर्न हाम्रो पनि त्यत्तिकै दायित्व हो भन्ने कुरा बुझन उत्तिकै जरुरी छ।’
अध्यक्ष दाहालले जेनजी आन्दोलनको मुख्य मागको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणको काममा संसदले पनि उत्तिकै महत्वका साथ काम गर्नुपर्ने अवस्था आएको बताए।
Shares

प्रतिक्रिया