राजनीति


जो ओली समूह छोडेर मैदानमा उत्रिए

जो ओली समूह छोडेर मैदानमा उत्रिए

नेपालखबर
मंसिर २९, २०८२ सोमबार २०:३, काठमाडौँ

उम्मेदवारीलाई लिएर असन्तुष्ट बनेका नेकपा (एमाले)का केही नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग टाढिएका छन्। उनीहरू प्यानल छोडेर छुट्टै उम्मेदवार बनेका छन्। 

अध्यक्ष ओलीले सोमबार बिहानै आफ्नो पक्षका उम्मेदवारको सूची बनाएर त्यहीअनुसार, उम्मेदवारी दर्ता गर्न निर्देशन दिएका थिए। अध्यक्षमा ओलीकै नाम थियो भने उपाध्यक्षमा पाँच जना थिए, रामबहादुर थापा, विष्णु पौडेल, गुरुप्रसाद बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ। 

ओलीको निर्देशनअनुसार, थापा, पौडेल, बराल र गुरुङले भृकुटीमण्डप पुगेर उपाध्यक्षमा उम्मेदवारी दिए। तर, ज्ञवालीले भने उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराए। ‘पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने अवसर हुन्छ भन्ने थियो,’ ज्ञवालीले आफू निकटका नेताहरूसँग भने, ‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृति उचित भएन। मेरो मन दुखेको छ।’

उनी महासचिवका दाबेदार थिए। त्यहीअनुसार, तयारी पनि गरेका थिए। तर, अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहोर्‍याए। त्यसैलाई ज्ञवालीले इंगित गरेका हुन्। 

ज्ञवाली दशौँ महाधिवेशनबाट उपमहासचिव बनेका थिए। अहिले महासचिवमा उनको दाबी स्वाभाविक थियो। तर, ओलीले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाएपछि उनी उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यका उम्मेदवार बनेका हुन्। 

उम्मेदवारीलाई ओलीसँग असन्तुष्ट बनेका अर्का नेता हुन्, अग्नि खरेल। ओली निकट झापाली नेता खरेल सचिवका दाबेदार थिए। तर, अध्यक्ष ओलीले उनलाई घटुवा घरेर केन्द्रीय सदस्यको उम्मेदवार बनाए। 

त्यसपछि ओलीसँग रुष्ट भएका खरेलले सचिवमा उम्मेदवारी दिएका छन्। उनी एमाले स्थायी कमिटी सदस्य हुन्। ओली प्रधानमन्त्री हुँदा विज्ञ सल्लाहकार रहेका खरेल पूर्व कानून मन्त्री हुन्। 

त्यस्तै, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ओलीको साथ छोडेका छन्। यसअघि स्थायी कमिटी सदस्य रहेका गौतमलाई ओलीले घटुवा घरेर केन्द्रीय सदस्यमा उम्मेदवार बन्न निर्देशन दिएका थिए। उनलाई खुलाबाट केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो। 

गौतमले ओलीको सूची छोडेर उपमहासचिवमा उम्मेदवारी दिएका छन्। नेतृत्वले मूल्यांकन नगरेपछि छुट्टै उपमहासचिवमा उम्मेदवारी दिएको गौतमले बताए। नेपालखबरसँगको संक्षिप्त कुराकानीमा गौतमले भने, ‘नेतृत्वले गुटबन्दी गर्‍यो, मूल्यांकन गरेन। त्यसको जवाफ अब कार्यकर्ताले दिनेछन्।’ 

ओली निकट नेता मात्रै नभएर ‘फ्यान’ हुन्, कृष्णगोपाल श्रेष्ठ। २०७८ सालमा ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री रहँदा उनले दिएको अभिव्यक्ति अझै पनि चर्चामा छ। त्यतिवेला ओलीको प्रशंसा गर्दै श्रेष्ठले भनेका थिए, ‘केपी ओलीलाई हटाउने कोही माइकालाल छ?’

त्यतिवेला त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै ओलीलाई चर्चित फुटबल खेलाडीसँग तुलना गरेका थिए। श्रेष्ठले भनेका थिए, ‘केपी ओली इज केपी ओली। केपी ओली फुटबलको पेले हो।’

अहिले भने उनै श्रेष्ठले ओलीलाई छोडेका छन्। ओलीले स्थायी कमिटी सदस्यबाट घटुवा गरेर केन्द्रीय सदस्यको उम्मेदवार बन्न निर्देशन दिएपछि उनी असन्तुष्ट बनेका हुन्। ओलीको निर्देशन अस्वीकार गरेर उनले सचिवमा उम्मेदवारी दिएका छन्। उनलाई ओली पक्षले खुलाबाट केन्द्रीय सदस्यको सूचीमा राखेको थियो। 

लालबाबु पण्डितले पनि ओलीको साथ छोडेका छन्। स्थानीय कमिटी सदस्य भइसकेका पूर्व मन्त्री पण्डितलाई ओलीले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने निर्देशन दिएका थिए। ओली पक्षको सूचीमा उनलाई खुलाबाट केन्द्रीय सदस्यमा राखिएको थियो। 

तर, पण्डितले ओलीको साथ छोडेर सचिवमा उम्मेदवारी दिएका छन्। ‘कहिलेसम्म केन्द्रीय सदस्य भएर बस्ने हो र?’, उनले भने, ‘अरु कुरा त्यस्तै हो, मैले सविच पदमा उम्मेदवारी दिएको छु।’

यसअघि एमालेको दशौँ महाधिवेशनमा पनि पण्डितले पदाधिकारीमा उठ्न खोजेका थिए। तर, ओलीले केन्द्रीय सदस्यमै बस्न निर्देशन दिएपछि पण्डितले महाविधेशन स्थल छोडेका थिए। यस पटक भने अध्यक्षकै साथ छोड्दै सचिवमा उम्मेदवारी दिएका पण्डितले भने, ‘पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई उपयोग गर्दै संगठनात्मक काममा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकाले अहिलेलाई सचिव पदमा उम्मेदवारी दर्ता गराएँ।’

अध्यक्ष ओलीसँग असन्तुष्ट बनेका अर्को नेता हुन्, रघुजी पन्त। उनी ओली निकट नेता मानिन्छन्। शिक्षक आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीसँग मतान्तर भएपछि विद्या भट्टराईले राजीनामा दिएकी थिइन्। त्यतिवेला ओलीले भट्टराईको ठाउँमा पन्तलाई शिक्षा मन्त्री बनाएका थिए। 

अहिले भने उनै पन्तलाई घटुवा गरेर केन्द्रीय सदस्यमा उम्मेदवार हुन निर्देशन दिए। ओली पक्षले बनाएको सूचीमा पन्तलाई खुलाबाट केन्द्रीय सदस्यको उम्मेदवार तोकिएको थियो। 

दशौँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका पन्तले घटुवा भएर केन्द्रीय सदस्यमा उम्मेदवार हुन चाहेनन्। उनले अध्यक्ष ओलीको साथ छोडेर उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। दुवै पक्षले आफूलाई मत दिने उनको विश्वास छ। 

यसअघि दशौँ महाधिवेशन उनी उपमहासचिवमा उठेका थिए। उपमहासचिवमा पराजित भएका थिए। 

उनीहरूले अध्यक्ष ओलीसँगै असन्तुष्टि राखेका थिए। उम्मेदवारी सच्याउन आग्रह गरेका थिए। तर, उनीहरूको कुरा मानेनन्। 

उम्मेदवारीलाई लिएर असन्तुष्टि जनाउने थुप्रै नेता छन्। त्यसमध्ये केही माग भने अध्यक्ष ओलीले सम्बोधन गरेका छन्। त्यसमध्ये एक हुन्, लेखराज भट्ट। 

ओली पक्षको सूचीमा भट्टलाई सचिवमा राखिएको थियो। यसअघि पनि सचिव रहेका भट्टले दोहोर्‍याएर उम्मेदवार नबन्ने घोषणा गरे।

त्यसपछि ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका भट्टलाई सचिवलाई उपमहासचिवको उम्मेदवार बनाइएको थियो। उनले उम्मेदवारी दिइसकेका छन्। 

बरु यसअघि उपमहासचिवको सूचीमा रहेका भानुभक्त ढकाललाई सचिवमा झारिएको छ। सोमबार बिहान जारी गरेको ओली पक्षको सूचीमा ढकाललाई उपमहासचिवको उम्मेदवारमा राखिएको थियो। भट्टले सचिव नलड्ने बताएपछि उनलाई उपमहासचिव र ढकाललाई सचिवको उम्मेदवार बनाइएको हो। 

एमाले अध्यक्षमा ओली र ईश्वर पोखरेल उम्मेदवार बनेका छन्। दुवै नेताले सोमबार अपराह्न उम्मेदवारी दर्ता गराए। 

त्यस्तै, महासचिवमा ओली पक्षबाट शंकर पोखरेल दोहोरिएका छन् भने ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन्। 

सोमबार उम्मेदवारी दर्ता भएको छ। मंगलबार मध्याह्य १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले सूचना जारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad