नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ।
नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेसहितको टोलीले सोमबार साँझ निर्वाचन आयोगको समानुपातिक सूची बुझाएको हो। यसअघि अवसर पाएका नेता तथा कार्यकर्तालाई समानुपातिकमा नराखिएको नेकपा नेता पाण्डेले बताए।
निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले ११० जनाको सूची पेश गरेको जानकारी दिए। ‘हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, विगतमा मन्त्री भईसकेका, प्रत्यक्षबाट सांसद भइसकेकाहरूलाई समानुपातिकमा आउने नदिनेगरी निर्णय गरेका छौँ,’ पाण्डेले भने, ‘युवा पुस्तालाई पनि ध्यान दिएका छौँ।’
आदिवासी, जनजाति, महिला, दलित, मधेसी, थारू र खसआर्य सबै क्लस्टरमा संविधान र निर्वाचन कानूनले व्यवस्था गरेअनुसार, उम्मेदवार बनाइएको उनले बताए।
सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा नेता पाण्डेले सबै दलसँग सहकार्य हुनसक्ने बताए। नेकपाले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सक्ने बताए।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १६ वामपन्थी घटकबीच एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइएको हो।
Shares

प्रतिक्रिया