राजनीति


उपार्जुनले बालेनलाई भनेका थिए– ट्रयाक्टर हिँड्ने बाटोमा मर्सिडिज कुद्दैन, त्यसपछि उनी रास्वपामा गएनन्

रास्वपाको समानुपातिक उम्मेदवार बन्न नमानेका रक्षा र उपार्जुन
उपार्जुनले बालेनलाई भनेका थिए– ट्रयाक्टर हिँड्ने बाटोमा मर्सिडिज कुद्दैन, त्यसपछि उनी रास्वपामा गएनन्

आयुषा ढकाल
पुस २३, २०८२ बुधबार २२:४६, काठमाडौँ

केही समयअघि जेनजी अगुवा रक्षा बम मेयर बालेन शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जाने चर्चा थियो। तर, रास्वपाले बालेन तर्फका २६ जनालाई केन्द्रीय सदस्य बनाउँदा रक्षा परिनन्।

उनी किन रास्वपा प्रवेश गरिनन् त? 

आफू अझै अनिर्णीत रहेको रक्षाको भनाइ छ।

रक्षाले भनिन्, ‘चुनावी माहोल बनाउनको लागि अलायन्स मिलोस्, नयाँ शक्ति गठन होस् भन्ने प्रक्रियामा मात्र म थिएँ। कुनै दलमा खुलेर लाग्ने वा नलाग्ने भन्ने विषयमा छिट्टै निर्णय गर्छु।’

रक्षालाई रास्वपाले आउन र समानुपातिक उम्मेदवार बन्न कर गरे पनि उनले अस्वीकार गरेको उनी निकटस्थहरूको भनाइ छ।

उसो त बालेन, रवि र कुलमानको एकता गराएका सुदन गुरुङ पनि हालसम्म रास्वपा प्रवेश गरिसकेका छैनन्। गुरुङ पहिले सबै जेनजीलाई एकसाथ समेट्नमा लागेको बताउँछन्। उनले परेको खण्डमा गोरखाबाट चुनाव लड्ने बताउँछन्।

हाल जेनजीहरू रास्वपामा जाने क्रम धमाधम चलिरहेको छ। कसैको नाम समानुपातिक सूचीमा आइसकेको छ त कोही प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। चुनाव लड्न उमेर नपुग्ने जेनजी पनि रास्वपाभित्रै बसेर काम गर्ने हिसाबले केन्द्रीय सदस्य बनेका छन्।

‘हामी सातै प्रदेश संयोजक जुन दलमा गए पनि एकै ठाउँमा जान्छौँ,’ सुदन नेतृत्वका काउन्सिल अफ जेनजीका प्रदेश संयोजकहरूले उतिबेला भनेका थिए।

तर अहिले मधेस प्रदेश संयोजक शिव यादव, लुम्बिनी प्रदेश संयोजक आदित्य आचार्य, गण्डकी प्रदेश संयोजक प्रदीप पाण्डे, सुदूरपश्चिम प्रदेश संयोजक खेमराज साउद रास्वपाका केन्द्रीय सदस्य भएका छन्।

बागमती प्रदेश संयोज रहेकी अफ्साना बानुको नाम समानुपातिक सूचीको मुस्लिम क्लस्टरमा छ भने कर्णाली प्रदेश संयोजक प्रकाश खड्काले पनि रास्वपाबाट नै प्रत्यक्ष चुनाव लड्ने बताए।

सुदन निकट जेम्स कार्की र ओजश्वी थापा समेत रास्वपामा हुँदा कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ भने छैनन्। रास्वपाको समानुपातिक सूचीमा बस्ने प्रस्ताव आफूले अस्वीकार गरेको  गरेका थिए। 

सुदन राजनीतिमा लाग्नु वा स्वतन्त्र रहनु व्यक्तिको इच्छामा भर पर्ने बताउँछन्।

‘कतिलाई राजनीति गर्न मन छ भने राजनीतिमा छिर्नु हुन्छ, कसैलाई स्वतन्त्र बस्न मन छ भने काउन्सिल अफ जेनजीको हाम्रो राष्ट्रिय एकीकरण अभियान छँदैछ,’ गुरुङले नेपालखबरसँग भने, ‘मेरो विचारमा उसकाे विचार नमिलेर चाहिँ रास्वपामा नगएको जस्तो लाग्छ।’

काउन्सिलका सुदूरपश्चिम संयोजक खेमराज साउद आफूहरूले चाम्लिङलाई रास्वपामा जानको लागि भनेको तर उनले अस्वीकार गरेको बताउँछन्। 

साउद भन्छन्, ‘हामी सबै प्रदेश संयोजकसँगै जाने कुरा भएको थियो। तर उहाँले अहिले चाहिँ म रास्वपामा आउँदिनँ भन्नुभयो, त्यसमा त हामीले के भन्न सक्छौँ र। उपार्जुनजी आउनु भएन, बाँकी हामी सँगै छौँ।’

उपार्जुनले बालेनलाई भनेका थिए : ट्रयाक्टर हिँड्ने बाटोमा मर्सिडिज  कुद्दैन
बालेन, रवि र कुलमानको पार्टी एकतापछि रास्वपाले आफ्नो समानुपातिक सूची बुझाएको थियो। उक्त समानुपातिक सूचीले सबैलाई नसमेटेको भन्दै जेनजीहरू नयाँ शक्तिप्रति रुष्ट थिए। यस विषयमा छलफल गर्न रास्वपाले जेनजीहरूलाई बोलाएको थियो। सो छलफलमा रक्षा बम, उपार्जुन चाम्लिङ, युजन राजभण्डारी, रिजन रानामगरलगायत पुगेका थिए।

समानुपातिक सूचीबाट असन्तुष्ट रहेका उपार्जुनले छलफलमा भनेका थिए, ‘पार्टीमा तपाईंहरूलाई व्यापारीहरू चाहिन्छ भने उपार्जुन चाम्लिङहरू त अट्दैनन् नि त्यहाँ!’

‘मैले तपाईंहरूको आफ्नै बाटो हो भन्दैमा जे पनि कुदाउने कुरा त व्यावहारिक हुँदैन, ट्रयाक्टर कुदाउने हो भने मर्सिडिज  कुद्न सक्दैन, सबै कुरा कुदाउँछु भन्यो भने त्यो बाटो टिक्दैन, भत्किन्छ, त्यो कुरा ख्याल गर्नु पर्छ भनेको थिएँ,’ उपार्जुन भन्छन्।

बालेनले समय अभाव देखाएर उनको कुरा टारेका थिए।

‘अलिक समय भएको भए बन्द सूची धेरै राम्रो बनाउन सकिन्थ्यो तर समय अभावका कारण यस्तो भयो भन्नुभयो,’ उनले भने, ‘त्यसपछि मेरो रास्वपासँग खासै संवाद भएको छैन।’

वैचारिक कुरा नमिली कुनै दलमा जाँदा यसले चुनावी हिसाबमा सहज हुने भए तापनि दीर्घकालीन रूपमा राम्रो परिणाम नदिने उपार्जुन बताउँछन्।

बालेनसँग देश बनाउने हुटहुटी भए तापनि समानुपातिक समावेशितासँग सम्बन्धित कुरामा  पर्याप्त जानकार नभएको उनले बताए।

उनि भन्छन्, ‘सामाजिक संरचनामाथिको अनुदारताले मुलुकलाई न्यायोचित हिसाबमा विकास गर्न सक्दैन। भवन बनाउने कुरा, रोड चिल्लो बनाउने कुराले मात्र मुलुकको समस्याहरू हल गर्न सक्दैन। हिजो पुरानो भनिएका दलहरूसँग जुन खालको आक्रोश, गुनासो थियो त्यो कुराप्रति नयाँहरूमा पनि सन्तोषजनक बुझाइ देखिँदैन। उनीहरूमा पनि अनुदारता नै देखिन्छ।’

तत्कालका लागि रास्वपाको शुभेच्छुक र उम्मेदवार हेरेर मतदान गर्न सकिने तर प्रतिनिधि नै बनेर जाने कुरामा सोच्नु पर्ने उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad