नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सोमबार बन्दसत्र सकिएको छ भने मंगलबार बिहान फेरि सुरु हुने भएको छ।
सोमबार भएको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए। उनीहरूका प्रस्तावमा महाधिवेशन प्रतिनिधिले समूहगत छलफल गरेका थिए।
आज छलफल नसकिएपछि फेरि मंगलबार बन्दसत्र जारी रहने महाधिवेशन पक्षधरका नेता सुवाषकुमार पोखरेलले जानकारी दिए।
विशेष महाधिवेशनमा महामन्त्रीद्वय थापा र शर्माले पेश गरेका प्रतिवेदनमाथि छलफल जारी रहेको उनले बताए। सोमबार भएको छलफलमा कोसी प्रदेशको टोलीले आफ्नो समूहगत प्रतिवेदन बुझाएको छ।
केही प्रदेशले छलफल जारी राखेको पोखरेल बताए। ‘महामन्त्रीका प्रतिवेदनमा छलफल जारी छ। भोलि सकिन्छ’ उनले भने।
पुराना समिति भंग गरेर नयाँ गठनको प्रक्रियामा जाने उनले बताए। ‘भोलि हामीले निर्वाचन समिति, अनुशसान समिति, केन्द्रीय समिति लगायतका केही भंग गर्नुपर्ने हुन्छ। किनभने अहिलेको निर्वाचन समितिलाई भंग नगरि अर्को निर्वाचन जाँदैन। त्यसो हुनाले हलले सायद त्यतातिर पनि निर्णय लिन्छ,’ उनले भने, ‘त्यो निर्णय लिएपछि निर्वाचनको प्रक्रिया परारम्भ हुन्छ।’
मंगलबारका लागि हल बुक भइसकेको उनले जानकारी दिए। ‘भोलिको लागि हल पनि बुक भइसकेको छ,’ पोखरेलले भने, ‘भोलि हामी निर्वाचनको प्रक्रिया थाल्छौँ।’
Shares

प्रतिक्रिया