राजनीति


नेपाली कांग्रेसले भन्यो- निर्वाचन आयोगको निर्णय लोकतन्त्र र विधानको विजय (६ निर्णयसहित)

नेपाली कांग्रेसले भन्यो- निर्वाचन आयोगको निर्णय लोकतन्त्र र विधानको विजय (६ निर्णयसहित)

नेपालखबर
माघ ३, २०८२ शनिबार १६:२६, काठमाडौँ

नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगले लिएको निर्णयको स्वागत गर्दै लोकतन्त्र र विधानको विजय भएको बताएको छ।

शनिबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जारी गरेको निर्णयमा यो प्रक्रिया कसैको जित-हार नभई विधि र लोकतान्त्रिक अभ्यासको सफलता भएको उल्लेख गरिएको छ। 

‘निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ,’ प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा निर्णयमा भनिएको छ, ‘यो कसैको जित-हार होइन- यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।’

बैठकले पार्टीभित्र एकता, सद्भाव र सहकार्यको आवश्यकता औँल्याउँदै देश-विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति तथा भातृ एवं शुभेच्छुक संस्थालाई फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ।

त्यस्तै, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबै नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा जोडिन बैठकले हार्दिक अपिल गरेको छ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले कांग्रेस नेतृत्वमा रहँदै लामो समयसम्म पुर्‍याएको योगदानको उच्च कदर गर्दै धन्यवाद व्यक्त गरेको छ। साथै, देउवाबाट आगामी दिनमा पनि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।

कांग्रेसले आम नेपाली नागरिकप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौतामा नजाने स्पष्ट गरेको छ। बैठकको निर्णयमा मूल्य र सिद्धान्तमा अडिग रहँदै संविधानको रक्षा गर्ने, समृद्ध नेपालको नेतृत्व गर्ने तथा नवयुवाको आकांक्षा र जनताको अपेक्षा पूरा गर्ने संकल्प दोहोर्‍याइएको छ।

केन्द्रीय कार्यसमितिले यो समयलाई कांग्रेसको नयाँ अध्याय-रूपान्तरण, एकता र विजयको चरणको रूपमा व्याख्या गर्दै समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ।

यस्ता छन् ६ निर्णयः

१‍‍‍‌‍‍‍‍ . निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन- यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ। 

२.यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश–विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ। 

३. विभिन्न कारणले पार्टीबाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथीहरूलाई पार्टीमा पुनः जोडिन यो वैठक हार्दिकतापूर्वक आह्वान गर्दछ। 

४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ। यो बैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ।

५. नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्‍याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँने छैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौँ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौँ। नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौँ। 

६. यो नयाँ अध्याय हो-रुपान्तरणको, एकताको, विजयको। 

सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ। 

जय नेपाल 

देवराज चालिसे 
प्रवक्ता 
नेपाली कांग्रेस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad