नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (जेन-जी) आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका भौतिक संरचनाको निरीक्षणपछि मात्रै आफ्नो उम्मेदवारी दर्ता गर्ने भएका छन्। फागुन २१ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा आइपुगेका ओलीले मंगलबार पहिला क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्ने तालिका राखिएको हो।
उम्मेदवारी दर्ता गर्न जानुअघि जेन-जी आन्दोलनका क्रममा जलाइएको आफ्नै घरमा पनि उनी जानेछन्।
एमाले क्षेत्रीय समन्वय कमिटी झापा क्षेत्र नं. ५ का संयोजक नारायणप्रसाद गौतमका अनुसार, अध्यक्ष ओलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा क्षति पुगेका सरकारी र व्यक्तिगत संरचनाको वस्तुस्थिति बुझ्नेछन्। निरीक्षणको क्रममा उनले घटनाका पीडितहरूसँग समेत छलफल गर्ने कार्यक्रम छ।
'बिहान १० देखि नै क्षतिग्रस्त संरचनाहरूको निरीक्षण र पीडितहरूसँग भेटघाट गरिरहनु भएको छ,' एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले नेपालखबरसँग भने, 'त्यसपछि दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।'
अध्यक्ष ओलीले दमकस्थित इलाका प्रहरी कार्यालयको भवनबाट निरीक्षण सुरु गरेका थिए। त्यसपछि दमक नगरपालिकाको कार्यालय, नगर प्रमुख राम थापाको निवास, नेपाली कांग्रेसको पार्टी कार्यालय, पूर्वप्रमुख रोमनाथ ओलीको निवास र आफ्नै निजी निवासको समेत अवलोकन गर्ने कार्यसूची छ। एमाले नगर कार्यालय र युवा नेता बुद्धि थापाको निवासमा भएको क्षतिको पनि उनले जानकारी लिनेछन्।
समय अभावका कारण मंगलबार दमक क्षेत्रका संरचनाको मात्रै निरीक्षण हुने र कमल गाउँपालिका, गौरादह नगरपालिका एवं गौरीगञ्ज गाउँपालिकामा भएका क्षतिको अवलोकन अर्को दिन गरिने एमालेले जनाएको छ।
'जेन-जी' आन्दोलनका क्रममा झापा क्षेत्र नं. ५ मा सरकारी र व्यक्तिगत गरी करिब २५ वटा संरचनामा क्षति पुगेको थियो। उम्मेदवारी दर्तासँगै ओलीले आजै दमकमा राजनीतिक भेटघाट गर्नेछन्।
Shares

प्रतिक्रिया