राजनीति


जेनजीका चर्चित अनुहार, जो अन्ततः सडकमै रहे

जेनजीका चर्चित अनुहार, जो अन्ततः सडकमै रहे

आयुषा ढकाल
माघ ६, २०८२ मंगलबार २०:३१, काठमाडौँ

‘सडक सधैँ मेरो लागि नजिक छ। मेरो कन्भिक्सन आन्दोलन हो। स्थान भुइँ मान्छेकै वरिपरि हो। म यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रस्टै थियो, आज पनि प्रस्टै छ,’  जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा भनेकी छन्।

बम प्रत्यक्ष चुनाव लड्लिन् भनेर धेरैले अनुमान गरेका थिए। उनी जेनजी आन्दोलनपछि चर्चामा आएका केही व्यक्तिमध्ये उनी एक हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह र नेपाली कांग्रेसजस्ता दलहरूबाट रक्षा राजनीतिमा आउने चर्चा पनि चल्यो।

बमले जुन दलका नेतालाई भेट्थिन्, उनी त्यही दलमा जानसक्ने अड्कल हुन्थे। पछिल्लो समय उनीलगायत केही जेनजीले नेपाली कांग्रेसका सभापति गगन थापालाई भेटेका थिए। भेटमा रक्षाले गगनलाई जेनजीले सरकारसँग गरेको सम्झौतालाई मान्नुपर्ने बताएकी थिइन्। 

सो भेटलगत्तै गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनमा पनि गगनले दस्ताबेजमै जेनजी आन्दोलनको सन्देशलाई स्वीकारेर अघि बढ्ने उल्लेख गरेका थिए। यसबाट प्रभावित बमलगायतका जेनजीहरूले गगन–विश्वको खुलेरै तारिफ गरेका थिए।

सोही कारण रक्षा पनि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचन लड्लिन् कि भन्ने चर्चा चल्यो। त्यसअघि बालेन शाहसँग मिलेर बमले राजनीति थाल्छिन् भन्ने अनुमान भएको थियो। तर, रास्वपाले बालेनतर्फका २६ जनालाई केन्द्रीय सदस्य बनाउँदा रक्षा परिनन्। रक्षा रास्वपाको समानुपातिक सूचीमा पनि बस्न नचाहेको उनका निकटस्थहरु बताउँछन्।

जेनजी आन्दोलनपछि नै पनि बमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने कुरा चलेको थियो। तर, एक पक्ष जेनजी अगुवा टासी ल्हाजोमलाई मन्त्री बनाउने भन्ने र अर्को पक्ष रक्षालाई बनाउने भन्ने हुँदा उनीहरू दुवै जना मन्त्री बनेका थिएनन्।

अन्ततः रक्षा चुनाव पनि नलड्ने भएकी छन्।

काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ पनि विभिन्न दलमा जाने चर्चा चले पनि सडकमै रहने भएका छन्।

‘म सडकमै छु, सबै मान्छे उम्मेदवार बनेका छन्, खाली भयो नि त सडक,’ उपार्जुन भन्छन्, ‘उपार्जुन बेगर पनि चल्छ संसद् भन्ने मान्छे भेटियो, त्यही भएर गइनँ। तपाईं अघि बढ्नुपर्छ, फलाम तातेकै बेलामा हिर्काउने हो, अनि मात्र बन्छ हतियार भन्नेहरू पनि थुप्रै थिए। अब सकिएन, उहाँहरूलाई सरी भन्नुपर्छ।’

अन्य जेनजीहरूले ‘हामी सडकमा नै बस्ने’ भन्दा पनि उपार्जुन भने ‘सडकमा बसेर मात्र माग पूरा हुँदैन, हामी सदनमा जानुपर्छ’ भन्थे। तर काउन्सिल अफ जेनजीका सबै प्रदेश संयोजक चुनाव लड्न थाल्दा उनी एक जना मात्र राजनीतितर्फ अगाडि बढेका छैनन्।

काउन्सिल अफ जेनजीका जेनजीहरू उज्यालो नेपाल पार्टीमा जाने भएका थिए। तर उक्त दलमा जेनजी झल्कने केही नभएको भन्दै उनीहरु रोकिएका थिए।

बालेन शाहले रास्वपासँग एकता गर्दा पनि सोही दलमा जाने कुरा चलेको थियो। उपार्जुन जसरी रास्वपाको बालेनसँग सम्झौता भएको छ, उसैगरी जेनजीसँग पनि हुनुपर्छ भन्ने चाहन्थे तर त्यस्तो हुन सकेन।

उपार्जुनका केही कुरा भने हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग मिल्छन्। उनले साम्पाङसँग बसेर छलफल पनि गरेका थिए। उक्त पार्टीले पनि जेनजीका मर्म नसमेट्ने देखेपछि उपार्जुन पछि हटे।

कांग्रेसको नेतृत्वमा गगन थापा पुगेपछि त्यता जाने पनि चर्चा चल्यो। प्रायः सबै दलसँग कुरा भएको उपार्जुन बताउँछन्। अन्ततः उपार्जुन पनि सडकमै रहे।

मन्त्री र समानुपातिक सांसद बनन नपाएकी टासी ल्हाजोम भने हुम्लाबाट रास्वपाको प्रत्यक्ष उम्मेदवार बनेकी छन्।

यसअघि टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने निश्चित भइसकेपछि विवादका कारण रोकिएकी थिइन्।

त्यस्तै, काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादवलाई रास्वपाले सिरहा-२ बाट उम्मेदवार बनाएको छ। यादव बालेन तर्फका केन्द्रीय सदस्य पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad