नेतृत्व चयनलाई लिएर नेपाली कांग्रेस केन्द्रमा आन्तरिक विवादमा अलमलिएको भए पनि नवलपरासी पश्चिममा भने एकजुट भएर चुनावी अभियानमा लागेको छ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नवलपरासी-१ मा कांग्रेसका विनोद चौधरी उम्मेदवार बनेका छन्। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका चौधरी दोस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका हुन्।
गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यस पकट फेरि साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका हुन्।

उम्मेदवारलाई लिएर कांग्रेसभित्र विवाद रहेको थियो। कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले पनि दाबी गरेका थिए। तर, टिकट नपाएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
त्यसपछि भने कांग्रेसमा विवाद सकिएको स्थानीय नेता बताउँछन्। नवलपरासी पश्चिमका प्रदेश सभा सदस्य विश्वप्रेम पाठक पार्टीभित्रको विवाद अन्त्य भएको सुनाउँछन्। ‘कांग्रेसको एकताले चुनावी परिणाम मात्र होइन, जिल्लाको समग्र विकास प्रक्रियालाई समेत गति दिने विश्वास छ,’ उनी भन्छन्।

कांग्रेसको नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले पनि अहिले एकताबद्ध भएर चुनावी अभियानमा लागेको बताउँछन्। वडा, जिल्ला र प्रदेश तहका सबै नेता-कार्यकर्ता एकजुट भएर मैदानमा उत्रिएको उनको भनाइ छ।
कांग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद, जिल्ला तथा वडा तहका नेता, बुद्धिजीवी र कार्यकर्ताले चौधरीलाई सघाइरहेको उनी बताउँछन्। चुनावी अभियानलाई लिएर बुधबार पनि चौधरीले जिल्लाका केन्द्रीय सदस्य, पूर्वसांसद, नेता तथा वडा तहका कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

छलफलपछि प्रतिक्रिया दिँदै चौधरीले कांग्रेस एकताबद्ध भएर चुनावमा लागेको देख्दा खुशी लागेको बताए। ‘अघिल्लो चुनावमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि नतिजा हाम्रो पक्षमा आयो। यसपटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ,’ चौधरीले भने।
अब कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै पश्चिम नवलपरासीको विकासमा अघि बढ्ने बताए।
Shares

प्रतिक्रिया