बाराको कबहीगोठमा नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ।
बिहीबार भारतबाट गाडीमा आएका भारतीयलाई नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले सीमानामा रहेको सशस्त्रको चेकपोस्टमा ढुंगामुढा गरेको बाराका सशस्त्र प्रहरी प्रमुख एसपी दिगविजय सुवेदीले जानकारी दिए। उनले ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको बताए।
‘हामी नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले चेकपोस्टमै आक्रमण गर्न थाले, स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपर्यो’, एसपी सुवेदीले नेपालखबरसँग भने।
घटनास्थलमा अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीले उनीहरुलाई सम्झाइ–बुझाइ गरेर फर्काउने प्रयास गरिरहेका छन्। बाराका प्रहरी प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ जाँदै गरेको छ। यसअघि नै त्यहाँ डीएसपीको कमान्डमा टोली खटाइएको एसपी सुवेदीले बताए।
भारतीय पक्षले नेपालतर्फ आक्रमण गरेपछि सीमाक्षेत्रका नेपालीहरु पनि घटना स्थल पुगेका थिए।
अहिले भारतीय पक्षलाई एसएसबी र नेपाली पक्षलाई सशस्त्र प्रहरीले सम्झाई रहेको एसपी सुवेदीले बताए।
‘उनीहरु किन आएका भन्ने कुरा हामीले सोधेका छैनौं, कसैलाई पनि नेपाल प्रवेश गर्न नदिने भन्ने आदेश छ’, एसपी सुवेदीले भने, ‘हामीले जो आएपनि नेपाल प्रवेश गर्न दिँदैनौं।’
यसअघि पनि भारतबाट नेपालमा प्रवेश गर्न खोज्नेहरुले विभिन्न चेकपेस्टमा आक्रमण गरेका थिए। भारतमा कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएपछि पछिल्लो समय नेपाल भारतीयहरु नजेपालतर्फ आइरहेका छन्।
Shares

प्रतिक्रिया