नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गरेर मंगलबार नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रचण्डले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई पुनरावलोकन र परिमार्जन गरिने बताए। ‘संविधान जारी भएको १० वर्ष पूरा भएको छ। संविधानले पनि १० वर्षमा पुनरावलोकन र परिमार्जन गर्ने भनिएको छ। प्रतिबद्धतापत्रमा त्यस विषयलाई महत्त्वका साथ उठाएको छौँ,’ उनले भने।
उनले सामाजिक विभेद र असमानता अन्त्य गर्ने कुरामा पनि आफूहरू प्रष्ट योजनाका साथ अगाडि बढ्ने बताए। ‘आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने, राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई बलियो बनाउने विषयलाई पनि प्रतिबद्धतामा उच्च प्राथमिकता दिइएको छ,’ उनले भने।
उनले नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताए। विगतमा राजनीतिक दलरूबाट भएका कमी-कमजोरीको समीक्षा गर्दै अब ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने उनको भनाइ थियो।
‘सबैका राय सल्लाह र सुझावका आधारमा हाम्रो पार्टीले जुन उद्देश्यका साथ अगाडि जान खोजेको छ र यो राष्ट्रलाई एकताबद्ध गर्ने र राष्ट्रको अगाडि देखा परेको चुनौतीको सामना गर्ने अलिकति सुन्दा कतिपय महत्त्वाकांक्षी जस्तो पनि लाग्न सक्छ तर हामीले विगतमा भएका कमी कमजोरीको समीक्षा सहित एउटा नयाँ संकल्प र दृढताका साथ नेपाललाई नयाँ बनाएरै छाड्ने संकल्प यो प्रतिबद्धता पत्रमा व्यक्त भएको छ,’ उनले भने।
उनले राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार गरे। विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटकहरू मिलेर बनेको नयाँ शक्तिले २०८४ को सट्टा २०८२ सालमै हुनसक्ने निर्वाचनका लागि आफूलाई तयार पारेको प्रचण्डको भनाइ छ।
संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणमा विगतका सरकारहरू उदार पुँजीवादकै वरिपरि अल्झिएको टिप्पणी गर्दै अब ‘नेपाली विशेषताको समाजवाद’ को बाटो तय गरिने बताए।
- नेकपाको चुनावी प्रतिबद्धतापत्र: काठमाडौँमा मेट्रोरेल र मोनोरेल, ठूला नदीमा जल यातायात (पूर्णपाठ)
- नेकपाको प्रतिबद्धतापत्र: सात प्रदेश सात हब, पूर्वमा उद्योग र सुदूरमा पर्यावरणीय पर्यटन
- नेकपाले भन्यो- कांग्रेस र एमाले ‘यथास्थितिवादी’, रास्वपा ‘सिद्धान्तहीन पपुलिस्ट’
- नेकपाको प्रतिबद्धतापत्र: १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५ लाख रोजगारी
Shares

प्रतिक्रिया