राजनीति


झापामा राजेन्द्र लिङ्देनसँग ‘तत्कालै’ : एमालेको बैसाखीबिनै चुनाव जित्छु (भिडिओ)

‘यो चुनावमा एकल बहुमत कसैले ल्याउँदैन, दलहरू फेरि एक ठाउँमा आउनुपर्छ’

अनिल यादव
फागुन १६ , गोलधाप, झापा

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला चुनावी घरदैलोमा व्यस्त छन्। अघिल्लो निर्वाचनमा नेकपा एमालेको साथ पाएका लिङ्देन यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली वा अन्य कुनै दलको बैसखीबिना आफ्नै बलमा चुनाव जित्ने दाबी गर्छन्।

विगतका निर्वाचनमा गठबन्धन गरे पनि यसपटक राप्रपाले देशैभर एक्लै चुनाव लड्ने नीति लिएको छ। यो पटक चुनाव जित्न एमालेसँग किन सहकार्य गरिएन? 

नेपालखबर तत्कालैसँग गफिँदै अध्यक्ष लिङ्देन भन्छन्, ‘कसैले कसैलाई प्रस्ताव गर्नुपर्ने कुरै थिएन। हामी घोषित रुपमै एक्लै चुनाव लड्ने थियौँ। मेरो आफ्नो व्यक्तिगत चाहना पनि यो निर्वाचन क्षेत्रमा एक्लै जनताको आशीर्वाद प्राप्त गरेर चुनाव जितौँ र आफ्नो बलमा, आफ्नै खुट्टामा चुनाव जित्न सक्छु भन्ने प्रमाणित गरौँ भन्ने थियो। यो एउटा संयोग पनि त्यही भयो।’

यसपटकको निर्वाचनमा राप्रपाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ विगतभन्दा धेरै गुणा राम्रो नतिजा ल्याएर निर्णायक शक्तिको रुपमा उदाउने उनको दाबी छ। हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा अहिले जनतामाझ अत्यन्त लोकप्रिय बनेको उनी ठोकुवा गर्छन्। बालेन शाहको प्रवेशपछि रास्वपालगायतका शक्तिहरूको उदय स्वाभाविक भएको उनको भनाइ छ।

उनी भन्छन्, ‘जो हामीभन्दा नयाँ छ, उसले राजनीतिक मुद्दा लिएर आजसम्म राजधानीबाहिर वा जनताको बीचमा गएको छैन, त्यस्तो नयाँ शक्ति वा व्यक्तिले स्वाभाविक रुपले आफूलाई चिनाउन, आफ्ना कुरा राख्न हामी पुरानाले भन्दा बेसी दौडधुप गर्नुपर्छ। तर देश यत्तिकै चल्दैन। यो चुनावमा एकल बहुमत कसैको ल्याउँदैन, देश बचाउने कुरामा एक ठाउँमा दलहरू आउनुपर्ने अवस्था आउँछ।’

सुशासन र भ्रष्टाचारको मुद्दामा लिङ्देन सदाझैँ कडा सुनिए। भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने आफ्नो भनाइलाई उनले व्यवहारमै लागू गरेको जिकिर गरे। अहिलेका सबैजसो दलका नेताहरू भ्रष्टाचारको दाग बोकेर हिँडेको बेला आफू बेदाग जनतामाझ आएको उनको दाबी छ। 

‘मैले आफूले पाउँदाखेरि भ्रष्टाचाररहित ढंगले काम गरेर पनि देखाएँ। म हाइस्कुलको विद्यार्थी हुँदादेखि सुरु गरेको राजनीतिक यात्रामा यहाँ आइपुग्दा वडाको अध्यक्ष, जिविस सभापति, सांसद र देशको उपप्रधानमन्त्रीसम्म भएँ। तर, यति लामो राजनीतिक जीवनयात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर म जुनसुकै मन्दिरमा छिर्ने तागत राख्छु। यो आजको बिग्रेको राजनीतिमा दुर्लभ कुरा हो,’ उनी भन्छन्।

राजेन्द्रले अहिलेको व्यवस्थाले निकास नदिने दाबी गर्दै चुनावपछि राष्ट्रिय सहमतिबाट निकास नखोजे देश ठूलो दुर्घटनामा जाने चेतावनी समेत दिए।

कुराकानीका क्रममा लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेका दुर्गा प्रसाईंको पक्राउ प्रकरणलाई लिएर सरकारको कडा आलोचना गरे। शान्तिपूर्ण विरोध गर्न पाउने लोकतान्त्रिक अधिकारलाई सरकारले कुल्चिएको उनको भनाइ छ। 

उनी भन्छन्, ‘राजावादी आन्दोलनका क्रममा पनि के दुर्गा प्रसाईंले बन्दुक लिएर आएका थिए र? कुनै हातहतियार लिएर आएका थिए कि? त्यतिबेला पनि आम रुपमै सरकारले जुन दमन गर्‍यो, त्यसको आलोचना गरेका छौँ। अहिलेको हकमा बोलेकै कारणले एकछिनमा पक्रने, एकछिनमा छोड्ने ठिक भएन। यो प्रजातन्त्रमा चुनाव ठिक छैन, बहिष्कार गर्नुपर्छ भन्न पनि पाउँछ नि कसैले। बन्दुक बोकेर हिँड्न भएन, ढुंगामुढा पो गर्दै हिँड्न भएन।’

‘त्यसकारण दुर्गा प्रसाईंलाई पक्रिने कुरा उचित छैन, निन्दनीय छ र त्यसमा हाम्रो विरोध छ,’ उनले भने।

लिङ्देन मतदातालाई लहैलहैमा लागेर भोट नदिन अपिल गर्छन्। उनले नयाँ वा पुरानो भन्दा पनि देश र जनताको लागि जो इमानदार छ, त्यसलाई आँखा चिम्लिएर एकपटक सोचेर मात्र मतदान गर्न आग्रह गर्छन्। 

उनले के के भने त? हेर्नुस् उनी झापा ३ स्थित गोलधापमा रहेको उनकै निवासमा पुगेर गरिएको स्थलगत गरिएको कुराकानी नेपालखबर ‘तत्कालै’:

फोटो/भिडिओः सरोज नेपाल


 

फागुन ७, २०८२ बिहिबार २३:६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad