नेपाल शिक्षक महासंघले निर्वाचनमा खटिने शिक्षकप्रति विभेद नगर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी ‘निर्वाचन कार्यमा शिक्षकहरूको संलग्नतामा कञ्जुस्याई गरिएको तथा खटाइएका ठाउँमा समेत तह र श्रेणीलाई विचारै नगरी कनिष्ठ जिम्मेवारी दिइएको’ बताएका छन्।
‘शिक्षकलाई निर्वाचनमा खटाउँदा निजले अध्यापन गरिरहेको तह र श्रेणीलाई दृष्टिगत गरी सो अनुसार उपयुक्त जिम्मेवारी दिन नेपाल शिक्षक महासंघले बारम्बार आग्रह गरिरहेको परिप्रेक्ष्यमा अझै पनि त्यस खालको विभेद गरिनु उचित होइन’ विज्ञप्तिमा भनिएको छ, ‘हामी निर्वाचन आयोगसमक्ष यस विषयमा गम्भीर हुन जोडदार माग गर्दछौं।’
साथै, तह र श्रेणी एवम् मर्यादामा आघात हुने गरी दिएका जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य नहुने समेत महासंघले चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया