राजनीति


एलपी साँवासँग ‘तत्कालै’ : बालेन झापा आएका होइनन्, ल्याइएका हुन्, चुनाव हार्दैछन् (भिडिओ)

‘देश जलाउने र देश बचाउनेबीच ध्रुवीकरण भयो, तसर्थ एमाले पहिलो पार्टी बन्छ’
एलपी साँवासँग ‘तत्कालै’ : बालेन झापा आएका होइनन्, ल्याइएका हुन्, चुनाव हार्दैछन् (भिडिओ)

अनिल यादव
फागुन ९, २०८२ शनिबार २१:१८, सुरुङ्गा, झापा

झापा-४ मा यतिबेला चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा व्यस्त छन्। यसै क्रममा नेकपा (एमाले) का तर्फबाट झापा-४ का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) पनि निरन्तर घरदैलो अभियानमा छन्।

लगातार चुनाव जितेर पनि मन्त्री बन्नबाट बञ्चित हुँदै आएका साँवा यसपटक फेरि संसद् छिर्ने योजनामा छन्। जनताको बीचमा सधैँ रहने भएकाले आफूलाई चुनाव र अरु बेलाको समय उस्तै लाग्ने गरेको उनी बताउँछन्। 

पछिल्लो समय देशको राजनीतिमा देखिएको ‘नयाँ दल र नयाँ पुस्ता’को उभार, झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चर्चा र राष्ट्रिय राजनीतिको ध्रुवीकरणका विषयमा उनी प्रष्ट धारणा राख्छन्। काठमाडौँको मेयरबाट राजीनामा दिएर बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा चुनाव लड्न पुगेका छन्। 

देशभर यसको तरंग फैलिए पनि झापा-४ मा भने यसको कुनै प्रभाव नरहेको साँवाको दाबी छ। अध्यक्ष ओलीले चुनाव जित्ने कुरामा सतप्रतिशत विश्वस्त रहेका साँवा रास्वपा वरिष्ठ नेता शाहको झापा प्रवेशलाई स्वाभाविक मान्दैनन्।

बालेनले ओलीलाई हराउँछन् त? साँवा भन्छन्, ‘हराउँछन् हैन, हार्छन्। यति कुरा बुझौँ न। उनी आएका होइनन्, ल्याइएका हुन्। केही त छ।’

तर, बालेनलाई कसले झापा ५ मा ल्यायो त? नेपालखबरको यो प्रश्नमा साँवा खुलेर बोल्न चाहेनन्। उनले भने, ‘यो प्रष्टै छ । मैले अरु राजनीतिक दलका नेताहरूको विषयमा धेरै कुरा गर्न चाहिनँ। किनभने म आफ्नो क्षेत्रमा केन्द्रित छु अहिले। म आफैँलाई भोट माग्न व्यस्त छु।’

साँवाको बुझाइमा अहिले देशको राजनीति दुई ध्रुवमा बाँडिएको छ। ‘देश जलाउने र देश बचाउने गरी ध्रुवीकरण भयो अहिले। हामी देश बचाउनुपर्छ, देशलाई शान्ति र अग्रगमनतर्फ अगाडि बढ्नुपर्छ भनेर लडिराखेको मान्छे हौँ। त्यसैले हामीले मत पाउँछौँ भन्ने विश्वास छ,’ उनले भने। 

जेनजी विद्रोहका क्रममा भएको युवाको मृत्युलाई दुःखद मान्दै उनले आन्दोलनमा घुसपैठ भएको दावी गरे।।

‘त्यो ठाउँमा पु¥याउने को हो? त्यो ड्रेस लाएको विद्यार्थीहरूको आन्दोलनमा के थियो? हामी फूल पनि भाँच्दैनौँ, पानीको बोतल फाल्दैनौँ, पात टिप्दैनौँ, फोहोर भुइँमा फाल्दैनौँ भनेर गएको आन्दोलन त्यसै त्यो अवस्थासम्म पुग्छ?,’ उनले थपे, ‘त्यसकारण त्यो आन्दोलनमा घुसपैठ छ। घुसपैठमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको चलखेल छ। तिनका मुखुन्डो ओढेका व्यक्तिहरू त्यहाँ उपस्थित छन्।’

रास्वपाका वरिष्ठ नेता शाह देशभर जाँदा देखिएको लहरलाई उनी भ्रम र क्षणिक ‘भाइरल’ मात्र मान्छन्। उमेरले कोही नयाँ नहुने भन्दै विचार र कर्मले मानिस नयाँ हुने उनको तर्क छ।

नयाँ पुस्ताको खोजीलाई उनले यसरी प्रष्ट पारे, ‘पुस्ता अन्तर हुँदा नयाँ पुस्ताले केही नयाँ चिज खोजिराखेको छ। त्यसो भएको हुनाले तिमीहरू नयाँ हौँ, नयाँले पनि बुझ्नुपर्ने कुरा चाहिँ नयाँपन हो। क्रियाशीलता, मेहनत, अध्ययन, परिवर्तनको भोक, रुचि जोसँग छ त्यो सधैँ नयाँ हो। त्यसकारण कोही बुझाइ, मनोविज्ञान र ज्ञानका कारण पुरानो मान्छे पनि नयाँ हुनसक्छ। हामी आफैँ नयाँ हौँ। म पनि नयाँ हुँ। किनभने हामी नयाँ काम गर्छौँ, नयाँ सुरुवात गर्छौँ, नयाँ सोच सोच्छौँ।’

हिजो लौरो चिह्न लिएर काठमाडौँ महानगरको मेयर लडेका शाहलाई नयाँ भन्न नमिल्ने उनको तर्क छ। ‘जो सूर्य चिह्नमा लडेको लडेकै छ त्यो पुरानो, अनि एकपटक सूर्यमा लड्ने अर्को चोटी रुखमा लड्ने, लौरोमा लड्ने, फेरि घण्टीमा लड्नेहरू चाँही नयाँ हुने? यस्तो खालको अफवाह फैलाएर जनता ढाँट्न सकिँदैन,’ साँवाले भने। 

आफ्नो निर्वाचन क्षेत्रमा साँवाले प्रतिष्पर्धा नै महसूस गरेका छैनन्। ‘अब तपाईँलाई साच्चै भन्नुपर्दाखेरि मैले यहाँ प्रतिस्पर्धी नै देखिराखेको छैन। म एक्लै छु सडकमा। त्यो तर्साउनेहरू अहिले पनि तर्साउँछन्, हराउँछन् क्या। त्यसकारणले मैले प्रतिस्पर्धी देख्दिनँ, यति कुरा तपाईँले प्रष्ट बुझ्नुस्,’ उनले भने।

साँवाले आफूलाई जिताउनुपर्ने मुख्य तीन आधार प्रस्तुत गरे। पहिलो, उनी आफूलाई नेता नभई जनताको सेवक मान्छन् । दोस्रो उनले विकास निर्माणलाई प्राथमिकतामा राखेका छन् । विद्यालयहरूको स्तरोन्नति, सडक पूर्वाधार र नदी नियन्त्रणमा आफूले काम गरेको उनको दाबी छ। 

तेस्रो र महत्त्वपूर्ण आधारका रुपमा उनले आर्थिक समृद्धिका लागि चालेको कदमलाई मानेका छन्। उनकै पहलमा झापा इनर्जी लिमिटेडमार्फत १० मेगावाटको सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । ‘म एउटा मात्र चुनाव लड्ने नेता होइन। चुनाव लड्ने सेवक हैन म। म जनताको कामसँगसँगै जनताको आर्थिक समृद्धि कसरी हुन्छ भनेर सोच्ने व्यक्ति हुँ,’ उनले भने।

साँवा यसपटकको चुनावमा आफ्नो जीत सुनिश्चित रहेको र एमाले देशकै पहिलो पार्टी बन्ने कुरामा ढुक्क देखिन्छन्। बाहिर चलेको नयाँ दलको हावा र शाहको प्रभाव झापामा निष्प्रभावी हुने उनको ठोकुवा छ।

एलपी साँवाले थप के-के भने? हेर्नुहोस् साँवासँग उनकै निर्वाचन क्षेत्र झापा-४, सुरुङ्गामा गरिएको भिडिओ कुराकानी नेपालखबर तत्कालै:

फोटो/भिडिओ: सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad