मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद ढकाल यतिबेला व्यक्तिगत र राजनीतिक दुवै हिसाबले कठिन मोडमा छन्।
सोमबार हामी पुग्दा बुबाको निधनपछि विराटनगरस्थित आफ्नै निवासमा किरिया बसिरहेका ढकाललाई भेट्न आउने शुभेच्छुक र कार्यकर्ताको ताँती एकातिर थियो भने अर्कोतिर चुनावको सरगर्मीले उनलाई छोपेको थियो।
किरिया बसेको १२ दिन पुगेकाले बुधबारबाट घरदैलोमा हिडेने तयारीमा थिए उनी। सेतो पहिरनमा, शोकको घडीमा भए पनि उनी देशको समसामयिक राजनीति र निर्वाचनका विषयमा प्रस्ट र दृढ देखिन्छन्।
काठमाडौँका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापामा चुनाव लड्ने चर्चा र पछिल्लो समय देखिएको टकरावका बारेमा ढकाल निकै गम्भीर सुनिए। उनले यसलाई ‘अमर्यादित हर्कत’ को संज्ञा दिँदै नेपालखबर तत्कालैमा भने, ‘राजनीतिमा एउटा न्यूनतम संस्कार र मर्यादा हुन्छ। लोकतन्त्रमा जो पनि जहाँबाट पनि चुनाव लड्न पाउने संवैधानिक अधिकार छ, तर त्यसको पछाडि एउटा राजनीतिक तर्क र आधार चाहिन्छ।’

उनले यसमा भारतको राजनीति हेर्न आग्रह गरे। ‘हेर्नुस् न, के नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा राहुल गान्धी चुनाव लड्न जान्छन्? जाँदैनन्। त्यहाँ एउटा राजनीतिक शिष्टाचार हुन्छ। बालेनजीले केपी ओलीको क्षेत्रमा गएर निहुँ खोज्नु वा उहाँलाई चुनौती दिने कुरा गर्नु एउटा अमर्यादित र अपरिपक्व हर्कत मात्र हो। एउटा राष्ट्रिय कदको नेता, जसले देशको काँचुली फेर्ने भिजन राख्छ, उसलाई सस्तो लोकप्रियताका लागि जथाभाबी टिप्पणी गर्नु र चुनाव लड्ने धम्की दिनुले बालेनजीकै कद घटाउँछ। यो राजनीतिक प्रतिशोध जस्तो देखिन्छ, जुन स्वस्थ लोकतन्त्रका लागि सुहाउने कुरा होइन।’
पछिल्लो समय आएको बाढी र त्यसले निम्त्याएको संकटका बारेमा चर्चा गर्दा ढकालले वर्तमान सरकारको कडा आलोचना गरे। उनले विपद् व्यवस्थापनमा सरकार पूर्णतः असफल भएको दाबी गरे।
‘भाद्र २३ को घटना अत्यन्तै दुखद र हृदयविदारक छ। प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन, तर त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने जिम्मेवारी सरकारको हो,’ उनले भने, ‘यसपटकको विपद्मा ओली सरकारले पूर्वतयारी गर्न नसकेकै हो। मौसम पूर्वानुमान हुँदाहुँदै पनि जनतालाई सुरक्षित स्थानमा सार्न र उद्धारका लागि संयन्त्रहरू तयारी अवस्थामा राख्न नसक्नु सरकारको गम्भीर लापरवाही हो। जनताले आफ्नो घरबार गुमाइरहँदा सरकार केवल टुलुटुलु हेरेर बस्यो। यो घटनाले के पुष्टि गर्छ भने हाम्रो राज्य संयन्त्र विपद्का बेला कति निरीह छ। हामीले संसद्मा पुगेर यस्ता गल्तीहरू नदोहोरिने गरी नीतिगत सुधार र बलियो उद्धार संयन्त्रको वकालत गर्नुपर्ने आवश्यकता झन् बढेर गएको छ।’
शोकको घडीमा पनि निर्वाचनको जिम्मेवारीलाई उनी कसरी लिइरहेका छन् त? ढकाल भावुक हुँदै भन्छन्, ‘बुबाको सामीप्य गुमाउनु मेरो व्यक्तिगत जीवनको अपूरणीय क्षति हो। तर म एउटा राजनीतिकर्मी पनि हुँ र ममाथि मोरङ ६ का हजारौँ जनताको भरोसा छ।’

किरिया बसेकै ठाउँबाट पनि उनले निर्वाचनको तयारीलाई सूक्ष्म रूपमा नियालेका छन्।
‘यो चुनाव केवल विनोद ढकालले जित्ने कुरा मात्र होइन, यो मोरङको विकास र एमालेको समृद्धिको एजेण्डाको जित हुनुपर्छ,’ उनले भने, ‘मेरा कार्यकर्ता साथीहरू गाउँ(गाउँमा खटिनुभएको छ। म किरियाबाट उठ्ने बित्तिकै पूर्ण ऊर्जाका साथ मैदानमा आउनेछु। मोरङ ६ का जनताले यसपटक काम गर्ने र सधैँ साथमा रहने उम्मेदवारलाई रोज्नेछन् भन्नेमा म पूर्ण विश्वस्त छु।’
नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रतिष्पर्धा गरिरहेका उनी रास्वपालाई प्रमुख प्रतिष्पर्धी मान्दैनन् । ‘यहाँ एमाले र काँग्रेसको प्रतिष्पर्धा छ। रास्वपा तेस्रोका लागि प्रतिष्पर्धा गर्दैछ,’ उनले भने।
ढकालसँगको यो कुराकानीले उनी केवल शोकमा डुबेका छैनन्, बरु राजनीतिक चुनौती र जनसरोकारका मुद्दामा अझ बढी सचेत र आक्रामक देखिएको महसुस हुन्छ। किरिया अवधि सकिएलगत्तै उनी चुनावी मैदानमा होमिएर आफ्नो शक्ति प्रदर्शन गर्ने तयारीमा छन्।
उनले थप के के भने, हेर्नुस् उनीसँगको भिडिओ कुराकानी नेपालखबर तत्कालै:
फाेटाे/भिडिओ: सराेज नेपाल
Shares

प्रतिक्रिया